बाजुरामा स्थानीय तह निर्वाचन गराउन पाँच सयभन्दा बढी कर्मचारी
फाइल फोटो
बाजुरा - स्थानीय तहमा हुन लागेको निर्वाचन सम्पन्न गर्न बाजुरामा पाँच सय ५८ जना कर्मचारी खटाइने भएको छ । एक सय १२ मतदान अधिकृत र एक सय १२ जना सहायक मतदान अधिकृतसहित पाँच सय ५८ जना कर्मचारी खटिन लागेका हुन् ।
जिल्लाका नौ स्थानीय तहमा ७० वटा मतदान केन्द्र र एक सय १२ मतदानस्थल छन् । मतदान केन्द्र र मतदानस्थलअनुसार कर्मचारी व्यवस्थापनमा पाँच सय ५८ जना कर्मचारीको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
निर्वाचनमा कर्मचारी संघ र संगठनका पदाधिकारी भने नखटाइने कार्यालय प्रमुख नवराज अवस्थीले बताए । जिल्लामा कुल ४२ हजार एक सय ५१ पुरुष र ४० हजार पाँच सय ३७ महिला गरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा एसलगायत १३ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् ।
कार्यालयका अनुसार निर्वाचन कार्यालयहरू स्थापनाका लागि निर्वाचन अधिकृतहरू सम्बन्धित स्थानीय तहमा गइसकेका र ८ वैशाखमा सबै ठाउँमा निर्वाचन कार्यालय स्थापना हुनेछ ।
कार्यालय स्थापनापछि निर्वाचन शिक्षा लगायतका गतिविधि अगाडि बढाइने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया