शताब्दी पुरुष जोशीलाई 'कर्णाली साधना सम्मान'
सुर्खेत : कर्णाली साहित्य समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साधना सम्मान’बाट सम्मानित गरेको छ । नेपाली भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याएको भन्दै जोशीलाई सम्मान गरिएको हो । स्वास्थ्यका कारण सुर्खेत आउन नसकेका जोशीलाई उनकै घरमा पुगेर ताम्रपत्रसहितको सम्मान प्रदान गरिने अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए ।
यस्तै कर्णालीकै ठूलो पुरस्कार राशीको कर्णाली साहित्य समाज पुरस्कार ललित विष्टको कथाकृति मोहपथलाई प्रदान गरिएको छ । ५० हजार राशीको उक्त पुरस्कार पाउने उनी दोस्रो साहित्यकार हुन् । यस्तै नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुर्खेतका लोकसाधक प्रेमदेव गिरीलाई नगद २५ हजारसहितको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि प्रतिष्ठान गठनको तयारी भइरहेको बताए । उनले प्रतिष्ठान गठनका लागि आवश्यक कानुनको तयारी भइरहेको जानकारी दिए ।कर्णाली साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश भएको भन्दै यसको संरक्षण र उत्थानका लागि प्रदेश सरकारले प्रतिष्ठान गठनको तयारी थालेको बताए ।
समाजका संस्थापक संरक्षक कथाकार महेशविक्रम शाहले कर्णालीकै ठूलो राशीको साहित्यिक पुरस्कारले कर्णाली चिनाउन सघाउ पु¥याउने बताए । उनले सबै कुरामा सरकारको मुख ताक्नु भन्दा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु आवश्यक रहेको औल्याए ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भाषा साहित्यका क्षेत्रमा अध्ययन, खोज र अनुसन्धानका लागि विश्वविद्यालयले कामहरु गरिरहेको बताए । उनले नेपाली भाषाको उद्गमस्थल जुम्ला र साहित्य र सभ्यताको सुरुवात सिंजाबाट भएकोले कर्णाली सरकारले भाषा साहित्यको जगेर्नामा प्राथमिकता दिन आवश्यक रहेको बताए ।
प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले नागरिकस्तरबाट भाषा, साहित्य र संस्कृतिको जगेर्नामा पु¥याएको योगदानको चर्चा गरे । पुरस्कृत स्रष्टा प्रेमदेव गिरीले कर्णालीमा भएका लोकसाहित्य र कलाको माध्यमले पनि नेपाललाई चिनाएकोले सरोकारवाला सबैले भाषा साहित्यको संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया