कर्णाली

जसलाई ‘अटो रिक्सा’ले आत्मनिर्भर बनायो

लक्ष्मी भण्डारी |
चैत १२, २०७७ बिहीबार १३:१२ बजे

सुर्खेत : वीरेन्द्रनगरकी सिर्जना गुरुङ्गले साँझबिहान भरिपेट खान पाइएला भनेर सोचेकी पनि थिइनन् । १४ वर्षकै कलिलो उमेरमा विवाह गरेकी सिर्जनाको आर्थिक अवस्था कमजोर थियो । मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजरा चलाउनै समस्या हुन्थ्यो । सिर्जनाका दुई छोरा र दुई छोरी छन् । 

छोराछोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कयौ रात भोकै बस्नुपरेको उनी सम्झन्छिन् । ‘काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थेँ । तर, सबैलाई पेटभरि खान पुग्थेन’ विगत सुनाउँदै उनी भनिन्, ‘कहिलेकाही कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ ।’


छोराछोरीलाई भोकै सुताउनुपर्दा उनलाई राति लाग्दैनथ्यो । काम नगरे भोकै सुत्नुपर्ने अवस्था आएपछि कयौ दिनहरू छोराछोरीलाई कुखुराको खोरमा राखेर पनि काम गर्न गएको सिर्जना बताउँछिन् । श्रीमानको सहयोग नभएपछि चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उनको काधमा थियो । बाख्रा र कुखुरा राख्ने खोरमा बसेर गुजरा काट्न कम्ति समस्या थिएन उनलाई ।

जीवनमा कहिले घाम त कहिले छाँया भनेझै सिर्जनाको जीवनले पनि अर्काे मोड लियो । ‘अटो रिक्सा’ले उनको जीवन फेरिएको छ । ‘अहिले भोकै बस्नु परेको छैन’ उनी भन्छिन्, ‘अटो चलाएपछि भरिपेट खान पाएका छौँ’ सिर्जनाले दैनिक गुजरा मात्र होइन राम्रो आम्दानी गर्न सफल भएकी छन् । अटो चलाएरै मासिक ३० हजार बढी आम्दानी हुने गरेको उनले बताइन् । 

त्यतिमात्र होइन सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरू बोडिङ्ग स्कुलमा पढाउने सोच बनाएकी छन् । विद्यालय नगएर बसेकी ठूली छोरी विद्यालय जान पाउने भएकी छन् । 

वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमानले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बसेकी कल्पनालाई श्रीमान सहयोग नगरेपछि समस्यामा थिइन् । छोराछोरीसहित उनलाई भने बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्थ्योे ।  एकदिन उनले गाउँमा थाहा पाइन, नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिँदै छ भन्ने । 

विरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्षितगरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । उनले उक्त तालिम लिइन् र नगरपालिकाबाट अटो किन्न २ लाख पाइन् । जसमध्ये १ लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण  । 

अटो चलाउनथालेपछि श्रीमानको आश गर्नै पर्दैन उनलाई । ‘श्रीमानले सहयोग नगरेपनि आफै आत्मनिर्भर बनेको छु,’ उनी भन्छिन्, ‘रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पालेकी पालेकी छु ।’ अटो सिक्ने बेला उनलाई समाजले के भन्ला भन्ने डर लागेको थियो । तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिएका छन् । 

‘समाजमा मैंले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने थियो,’ उनले भनिन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छौँ, अझ मेहनत गर्दै जाउ भनेर भन्छन्।’ कल्पनालाई सवारी चालक अनुमति पत्र नहुँदा भने समस्या भएको छ । उनी अहिले अनुमति पत्र निकाल्ने प्रक्रियामा छिन् । ‘ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ,’ उनले भनिन्। कल्पना मात्र होइन, अहिले सुर्खेतमा यस्ता अटो रिक्सा चालक महिला १५ जना छन् । 

प्रदेशको राजधानी वीरेन्द्रनगरमा उपत्यका भित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो। वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् ।

वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावत अहिले अटो चलाउँदै आएकी छन् । पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन थियो । उनका श्रीमानले पनि मजदुरी काम गर्छन् । दुवैजनाले मजदुरी गरेपनि घरखर्च चलाएर छोराछोरी पढाउन समस्या परेको थियो । तर अहिले अटो चलाउन थालेपछि मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ । 

घरखर्च चलाउन सजिलो भएपछि उनका श्रीमान पनि खुसी छन् । पहिला सामान्य घरयासी सामान किन्न आँट नगर्ने पवित्राले अहिले जग्गा किन्ने आँट गरेकी छन् । ‘आफू आत्मनिर्भर भएपछि मात्र आँट आउँदो रहेछ’ उनी भन्छिन्, ‘अब घरको ऋण सबै तिरिसकेपछि जग्गा किन्ने सोच बनाएकी छु ।’ उनले गाउँको सहकारी संस्थामा बचत पनि गर्न थालेकी छन् ।

अटो चलाउँदा थरिथरिका व्यक्तिसँग कुराकानी गर्दै बाटो काट्ने गर्छन् । ‘कोही कति पीडामा हुन्छन् अनि कोही खुसीमा रमाएका भेटिन्छन्’ उनी भन्छिन्, ‘उनीहरूसँग कुरा गर्दा आफ्ना पीडा पनि बिर्सन्छु ।’ कहिलेकाही पीडित र समस्यामा परेका व्यक्ति भेटाएमा सहयोग पनि गर्ने गरेकी छन् । 

वीरेन्द्रनगर ७ की मोसमी शाही पनि अटो रिक्सा चालक हुन् । साँझ बिहानको घरको काम बाहेक दिउँसोको समय सदुपयोग गर्नको लागि अटो रिक्सा तालिम लिएकी हुन् । सानोतिनो खर्च चाहिए पनि श्रीमानकै हात थाप्नुपर्ने भएपछि आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले तालिम लिएको मौसमीले बताइन् । उनका श्रीमान नेपाल प्रहरीमा जागिर गर्छन् । अटोको आम्दानीबाट उनी सन्तुष्ट छिन् । अटोबाट मासिक ४० हजार सम्म आम्दानी हुने गरेको उनले बताइन् । 

अटो चलाउन थालेपछि घरखर्च चलाउन सहज भएको उनले बताइन् । ‘पहिला श्रीमानको कमाइले मात्र सम्पूर्ण घरखर्च चलाउन समस्या हुन्थ्यो’ मौसमीले भनिन्, ‘अहिले दुवैजनाले कमाउन थालेपछि बचत पनि हुन थालेको छ ।’ अटो चलाउन थालेपछि घरमा तला थप्न लागेकी छन् । ‘आफ्नो हातमा पैसा भएपछि आँट पनि आउँदो रहेछ’ उनले भनिन्, ‘मेरो कमाई देखेर श्रीमान पनि खुसी हुनुहुन्छ र उहाँलाई भार कम परेको छ ।’

नगरपालिकाले विपन्न महिलालाई अटो रिक्सा तालिम दिएपछि यहाँका महिलाहरू अटोतर्फ आर्कषण बढेको छ । अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिलाहरू पनि अटो चलाउन थालेको अटो चालक मौसमी शाही बताउँछिन् । 

‘मैले अटो रिक्सा तालिम लिने बेलाम छोरी मान्छेले पनि अटो चलाउने भन्ने दीदी बहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ’ उनी भन्छिन्, ‘कतिपयले त अटो किनेर चलाउन सुरु पनि गर्नुभएको छ ।’ 

वीरेन्द्रनगर–१० की यशोदा सापकोटा कक्षा १२ को परीक्षा दिएपछि खाली समय सदुपयोग गर्न नगरपालिकाको सहयोगमा अटो रिक्सा चलाउने तालिम लिइन् । त्यपछि उनले आफैं अटो रिक्सा पनि किनिन् । २०७६ भदौ १० गते अटो किनेकी यशोदाले पनि मासिक १७ हजार ५०० रुपैयाँ किस्ता तिर्छिन्।

‘प्रायः पुरुषले मात्र गर्ने काम खाली बस्नुभन्दा मैंले पनि सुरू गरेँ, अहिले परिवारका अरू सदस्यको आम्दानीमा मेरो पनि थप भएको छ,’ उनले भनिन्, ‘घर खर्च चलाउन सजिलो भएको छ ।’ उनको परिवारमा ९ जना सदस्य छन् । परिवारको खर्चमा आफ्नो आफ्नो आम्दानीले पनि सहज बनाएको उनी बताउँछिन् । ‘कामलाई सानो वा ठूलो भनेर वर्गीकरण गरेर मात्र बस्नेहरू पनि समाजमा छन्, मैंले कामलाई समान रूपमा सोच्छु,’ यशोदा भन्छिन् ‘म पनि त्यसै गरेर बसेको भए बेरोजगार युवामा पर्थें, अहिले त आत्मनिर्भर भएकी छु।’ 

पुरुषको  तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने र जसको कारण कम दुर्घटना हुने गरेको पाइएको ट्राफिक प्रहरी यज्ञबहादुर वलीले बताए । ‘महिला चालकले तीब्र्र गतिमा चलाउदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ’ उनी भन्छन्, ‘प्राय महिला चालकले लापरवाही गर्दैनन् ।’

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले पनि महिलाहरू आफ्नै खुट्टामा उभिन यो पेसा रोज्न थालेको बताउँछिन्। ‘सुरुसुरुमा त हामीले खोलेको जति संख्यामा पनि आवेदन पाएनौं,’ उनले भनिन्, ‘अटो चलाउने भनेपछि अर्कै सोचाई थियो । अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं । तालिम कहिले खुल्छ भनेर सोध्छन् ।’

नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक बर्ष ०७५/७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो । नगरपालिकाका ६५ जनालाई अटो रिक्सा चलाउने तालिम प्रदान गरेको ढकालले  बताइन् । 

‘सुरूमा तालिम पूरा गरेका १४ जना महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएको छ,’ उनले भनिन्, ‘त्यो देखेपछि अरू महिला दिदीबहिनीहरूको पनि अटोमा आकर्षण बढ्दै गयो, यो कार्यक्रमलाई निरन्तर हामी सञ्चालन गर्छौं।’  विपन्न परिवारका महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । 

‘जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान गर्‍यौ’ उनले भनिन्, ‘लाईसेन्सको प्रक्रियामा गईसकेपछि उनीहरूलाई अटो किन्न १ लाख रूपैयाँ अनुदान दियौं । १ लाख रुपैयाँ विना ब्याज एक बर्षभित्र तिर्नेगरी ऋण दियौं।’ 

तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्थापन गरेको छ ।  दुई लाख रुपैयाँ नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको ढकालले बताइन् । 

नगरपालिकाका सामाजिक शाखाका प्रमुख टंकप्रसाद लामिछानेले अटो चलाउन थालेपछि महिलाको आर्थिक आयआर्जन गर्नुका साथै आत्मनिर्भर बनेको बताए । ‘अटो चलाउने भनेपछि पुरुषले मात्र हो भन्ने दृष्ट्रिकोणलाई बदलिदिएका छन्’ लामिछानेले भने, ‘अहिले महिलाले अटो चलाएर राम्रो आम्दानी गर्न थालेपछि अन्य महिलाहरूको पनि त्यसमा आर्कषण बढेको छ ।’

तस्वीर १ः अटो रिक्सा चलाउँदै मौसमी शाही
तस्वीर २ ः अटो रिक्सा चलाउँदै सिर्जना गुरुङ्ग
तस्वीर ३ ः अटो रिक्सा चलाउँदै पवित्रा रावत


Author

थप समाचार
x