कर्णाली

कर्णालीमा सामुहिक आत्महत्या प्रकरण, प्रहरीले अघि बढायो अनुसन्धान

लक्ष्मी भण्डारी |
चैत १२, २०७७ बिहीबार १६:४८ बजे

चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी सुकी र उनका छोराछोरीको सामुहिक दाहसस्कारमा सहभागी स्थानीयहरू ।

सुर्खेत : कर्णाली नदीमा सामुहिक आत्महत्याको घटनामा दैलेख प्रहरीले अनुसन्धान अघि बढाएको छ । आफ्ना चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सुकीका  भाई बजिरसिंह थापाले सुकीका श्रीमान्विरुद्ध  चैत ६ गते आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता भएलगत्तै प्रहरीले अनुसन्धानको कामअघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी गराए ।  


 सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइले दिएको उजूरीका आधारमा मानसिंहलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुनारले बताए  । ‘सुकीले चार छोराछोरीसहित आत्महत्या गर्नुको कारण के रहेछ भनेर हामीले अनुसन्धान सुरु गरेका छौ’ उनले भने, ‘यसको लागि सुकीका श्रीमानसँग बयान लिएका छौ ।’ आत्महत्याका लागि कसको कारणले बाध्य पारिएको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको सुनारले बताए ।

घटनाको प्रकृति हेर्दा घरेलु हिंसाको कारण आत्महत्या गर्न बाध्य भएको हुनसक्ने सुकीका आफन्तहरूको भनाइ छ । सुकी र उनका तीन छोरी र एक छोरा समेत पाँच जनाले फागुन २४ गते बेलुका कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका थिए । घटनामा सुकी, उनका छोरीहरू १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।

घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव फेला परेको थियो । कान्छी छोरी रोशनीको शव भने घटना भएको नौ दिनपछि कर्णाली नदीमै भेटिएको थियो । 

आठबीस नगरपालिका–३ जाक्सी तलको कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । कान्छी रोशनीको शव भने बाँधिएको ठाउँबाट अलग्गिएको कारण ढिला फेला परेको थियो । चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी सुकी र उनका छोराछोरीको सामुहिक दाहसस्कारमा सहभागी स्थानीयहरू ।


Author

थप समाचार
x