मतदाताको आरोप : नेता भोट माग्न आउँछन्, जितेपछि फर्कदैनन्
सुर्खेत – स्थानीय तह निर्वाचन नजिकिएसँगै कर्णाली प्रदेशका ७९ पालिकामा चुनावी चहलपहल बढेको छ । डाडाँपाखा अनि बजार क्षेत्र विभिन्न थरीका झण्डा र ब्यानरले झकिझकाउ छन् । कतै पञ्चेबाजा त कतै ठूला ठूला डेग र साउण्डबक्समा पार्टीका गीतहरु घन्किएका छन् । दलका उम्मेदवारहरू आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनीहरु आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित घरदैलोमै भट्न जान्छन्, नमस्कार गर्छन् र भोट माग्छन् ।
प्रदेशको सबै जिल्लाहरुमा कतै गठबन्धन त कतै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा आएका छन् । नेपाली काँग्रस, माओवादी र समाजवादीको गठबन्धनमार्फत प्रतिस्पर्धामा छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको फोटो र निर्वाचन चिन्ह बोकेर मतदाताको घरघरमा पसिरहेका हुन्छन् ।
आफ्ना उम्मेदवारलाई विजयी गराउन घरदैलो अभियानलाई तीव्र बनाइएको कांग्रेस जिल्ला उपसभापति विष्णु खड्काले बताए । ‘सहरी विकासको योजना, सहरी स्वास्थ्य पूर्वाधार, भेरी लिफ्टिङलगाययतलाई प्रमुख चुनावी एजेन्डा बनाएका छौं,’ खड्काले भने, ‘गठबन्धन भएका नगर र वडामा संयुक्त रूपमा प्रचार थालिएको छ ।’ सबै टोल समितिलाई सक्रिय बनाएर उम्मेदवारसहित घरदैलो गर्ने काममा जोड दिइएको उनले जानकारी दिए ।
एमालेले जनसभा र कोणसभालगायतका कार्यक्रमलाई तीव्र बनाएको वीरेन्द्रनगर नगरपालिका प्रमुखकी उम्मेदवार मोहनमाया ढकालले बताइन् । ढकालले घरदैलोसँगै विभिन्न चोकहरुमा कोणसभाको आयोजना गरिएको बताइन् । उनले विकास निर्माणका एजेण्डासँगै सुकुम्वासी समस्या समाधान र जेष्ठ नागरिकको हात हातमा भत्ता दिने कार्यक्रमलाई प्रमुख एजेण्डाको रुपमा लिएको बताइन् ।
‘ज्येष्ठ नागरिकलाई हात–हातमा भत्ता नै हाम्रो मुख्य एजेण्डा हो,’ ढकालले भनिन्, ‘यसअघि नगर उप्रमुख भएर कामकाज गरेकाले धेरै कुराको अनुभव छ, सुकुम्बासी समस्या समाधान र व्यवस्थित सहरीकरणलाई पनि एजेन्डामा प्राथमिकता दिएका छौं ।’
यता मतदाता भने चुनावमा मात्र ठूला ठूला सपना दखाएर भोट माग्ने अनि जितेपछि नहेर्ने गरेको बताउँछन् । ‘चुनावका बेलामा मात्र घरदैलो आउने नेताहरु अघिपछि किन आउँदैनन्’ हाल वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएकी सल्यानकी लालसरी थापाले भनिन्, ‘भोट माग्न आउँछन्, जितेपछि फर्केर आउँदैनन् ।’
वीरेन्द्रनगरकी गीता साहीको अनुभव प िउस्तै छ नेताहरु पुरानै कुराहरु ल्याएर आउने र नागरिकको समस्या उस्ताको उस्तै छ । ‘हाम्रा सामान्य आवश्यकताहरु मात्र पूरा गरेपनि खुसी हुने थियौ’ उनी भन्छिन्, ‘वीरेन्द्रनगरको मुख्य समस्या भनेको खानेपानीको हो यो समस्या कहिल्यै पूरा हुँदैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया