कर्णाली

कर्णालीमा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थलमा कर्मचारी खटिए

इकागज |
बैशाख २७, २०७९ मंगलबार १२:२७ बजे

सुर्खेत – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको कार्यालयले जनाएको छ ।

निर्वाचनको लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा कर्मचारी पठाइएको छ । मतदान सामग्रीसहित कर्मचारी खटाइएको निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । जिल्लाभर एक हजार चार सय ४५ जना कर्मचारी खटिएको छन् । जसमध्ये पाँच सय ८२ मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएको चालिसेले जानकारी दिए । ‘टाढाको हिजो (सोमवार) गइसक्नुभएको छ’ उनले भने, ‘कोही आज निर्वाचन सामाग्री लिएर जाँदै हुनुहुन्छ ।’ निर्वाचन कार्यलय परिसरमा मतदानको सामाग्री लिएर जाने कर्मचारीहरुले भरिभराउ देखिएको छ । 


त्यसैगरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । कर्णालीका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र स्थलको अनुगमन गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरूले जनाएका हुन् ।

दुई सय ९१ मतदान केन्द्र रहेको सुुर्खेतमा निर्वाचन सुुरक्षालगायतका सबैजसो तयारी पूरा भएको प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘आम मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ,’ उनले भने, ‘निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापन पनि भइसकेको छ ।’ कर्णाली प्रदेशको राजधानीसमेत भएकाले पनि यहाँ अन्य जिल्लाभन्दा राजनीतिक गतिविधि बढी हुुन्छन् । सुर्खेतका केही स्थानमा निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच छिटफुट झडपका घटना भएका छन् । 

त्यसबाहेक जिल्लाको शान्ति सुुरक्षाको अवस्था सामान्य रहेको उनले जनाए । उनले निर्वाचन अवधिभर कुनै अवाञ्छनीय गतिविधि हुन नदिन विशेष सुरक्षा रणनीति बनाइएको बताए । सुर्खेतमा तोकिएका मतदान केन्द्रमध्ये २० वटा भने सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेका छन् । यी केन्द्रहरुमा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 
 


Author

थप समाचार
x