सुदूरपश्चिम

खोरेत रोगको प्रकोप : एकै गाउँमा २० पशु मरे

इकागज |
जेठ १०, २०७९ मंगलबार २२:५ बजे

फाइल तस्बिर

बैतडी- पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो । 

खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको  र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहोराले बताए । 


नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरुमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाइएको हो । खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरु मर्ने गरेको पाइएको छ ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहोराले जानकारी दिए । मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरुमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन् । रासस
 


Author

थप समाचार
x