सुदूरपश्चिम

खप्तडमा पर्यटक बढे, पूर्वाधारको कमी

नवराज पनेरु |
चैत १८, २०७७ बुधबार ६:१२ बजे

धनगढी : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । केही समयका लागि हेलिकप्टरमार्फत खप्तड भ्रमण गर्ने व्यवस्था गरिएकोमा अहिले पदमार्ग भएरै पर्यटक खप्तडसम्म पुग्न थालेका हुन् । डोटी भएर खप्तड पुग्नेहरु झिग्रानासम्म मोटरमा र त्यहाबाट ट्रेकिङ गर्दै खप्तड पुग्ने गरेका छन् । बझाङ भएर खप्तड जानेहरु भने दारुगाउँबाट पैदल जाने गरेका छन् । नीजि क्षेत्रबाट सञ्चालन गरिएको हेली टुरपछि खप्तडप्रति पर्यटकको चाँसो बढेको र अहिले चहलपहलसमेत बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । 

डोटीतर्फबाट खप्तड प्रवेशद्वारमा रहेको खप्तड होमस्टे झिग्रानाका सञ्चालक तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष दीपकबहादुर खड्काले खप्तडमा आन्तरिक पर्यटकको सङख्यामा बृद्धी भएको बताए । पर्यटकको सङख्या बढेपनि अहिले खान र बस्न समस्या कायमै रहेको बताउँदै उनले भने, ‘आन्तरिक पर्यटकको रोजाईमा खप्तड परेपनि पूर्वाधार विकास नहुँदा पर्यटकहरु समस्यामा परेका छन् ।’ 


उनका अनुसार अहिले खप्तडमा दैनिक ५० देखि ६० जना पर्यटकहरु पुगिरहेका छन् । ‘खप्तडमा ३०÷३५ जना पर्यटक बस्नका लागि मात्रै सुविधा छ,’ खड्काले भने, ‘बस्ने सुविधा नहुँदा पर्यटकलाई राष्ट्रिय निकुञ्जको कार्यालय र अन्य गोलघरमा समेत राख्ने गरिएको छ ।’ 

उनले पर्यटकलाई खानपानका लागि ठूलै समस्या नभएपनि बस्ने व्यवस्था नहुँदा समस्या बढेको बताए । ‘खप्तड अहिले पनि पर्यटकको रोजाईमा छ,’ उनले भने, ‘समस्या बस्ने र खानका लागि नै हो । खानबस्न सुबिधासहितको आवास गृह निर्माण भए दोब्बरले पर्यटक बढ्छन् ।’

यता सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले खप्तड क्षेत्र विकास तथा व्यवस्था समिति गठन गरेको तीन महिना  पुगेको छ । तर उक्त समितिले अहिलेसम्म कुनै गतिविधि गर्न सकेको छैन । समितिका अध्यक्ष हर्कबहादुर सिंहले गठन आदेशमा केही त्रुटी हुँदा समस्या भएको बताए । ‘गठन आदेश अनुसार कर्मचारी र बजेट व्यवस्थापनमा केही समस्या देखिएको छ,’ उनले भने, ‘आजभोलिमा सच्याउने तयारी छ । त्यसपछि मात्रै खप्तडमा काम गर्न सकिन्छ ।’ 

‘पर्यटकहरुको सुविधाका लागि डोटीको बीचपानी र खप्तड मुख्यालय आसपासमो आवास गृह निर्माणको योजना रहेको छ,’ उनले भने, ‘यसबर्ष प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । बजेट फ्रिज नहुने गरी हामी काम गर्छाै ।’ अहिले बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको छ । 

स्थापना कालदेखि नै भ्रष्टाचारको आरोप खेपेर खारेज भएको खप्तड क्षेत्र पर्यटन विकास समिति फेरी प्रदेश सरकारले ब्युताउने निर्णय गर्दै पुस दोस्रो साता पदाधिकारी नियुक्त गरेको थियो । खुलेयाम भ्रष्टाचार र अनियमिततापछि भएका मुद्दामामिला र विवादका कारण पर्यटन मन्त्रालयले बजेट कटौती गरेसंगै २०६३ सालमा गठन भएको खप्तड पर्यटन विकास समिती २०७५ मा खारेज भएको थियो । खप्तडको नाममा चार जिल्लाका राजनीतिक दलहरुले कार्यकर्ता पोस्ने काम गर्न थालेपछि विकास समिति गठन भएदेखि उपलब्धी हासिल गर्न सकिएको थिएन् । 

विगतको समितिले गेस्ट हाउस, पदमार्ग, भ्यू टावर, पुल, सांकेतिक चिह्न लगायत पर्यटकका लागि आवश्यक टेन्ट, लुगाकपडा, घोडा खरिदका लागि १० वर्षको अवधिमा २१ करोड बजेट खर्च गरिएको थियो । तर काम सबै अधुरा छन् । एकै बर्ष ७ करोड बजेट आएको समयमा पर्यटन विकास समितिको अध्यक्षमा अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट थिए । 

सो बेला माओवादीका कार्यकर्ताहरूले कामै नगरी उपभोक्ता समिति गठन गर्दै रकम हिनामिना गरेको आरोप पनि लागेको थियो । सो समयमा पाँच सय थान टेन्ट र ४० वटा घोडा खरिदको बिल पेश गरिएको थियो । पछि भ्रष्टाचारको आरोपमा मुद्धा परेपछि टेन्ट रामारोशन महोत्सवमा आगलागी भएर नष्ट भएको तथा खप्तड पुर्‍याइएका घोडाको हड्डी देखाएर बाघले खाएको मुचुल्का तयार पारिएको थियो । 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष खड्काले राजनीतिक नियुक्तीमा आएका पदाधिकारीले काम नगरी पद मात्र ओगटेर बस्ने गर्दा समस्या भएको बताउँछन् । ‘विगतका समितिले आएको बजेटको सदुपयोग गर्न सकेनन्,’ खड्का भन्छन्, ‘नीजि क्षेत्रले सो क्षेत्रमा गेष्ट हाउस निर्माण गर्न खोज्दा निकुञ्जले अवरोध गर्दै आएको छ । जसले खप्तडमा पुगेका पर्यटक नराम्रो सन्देशसहित फर्किरहेका छन् । 

नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेकोमा राष्ट्रिय निकुञ्जको कार्यालयलाई निकासा दिइएको थियो । अहिले उक्त बजेटमा बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालय नजिक ८० जना अट्ने आवास गृह निर्माण भईरहेको छ । 
 


Author

थप समाचार
x