सुदूरपश्चिम

कैलालीमा सत्ता गठबन्धनबाट अलग्‍गियो माओवादी, जिसस गठनमा यस्तो छ सहकार्य

इकागज |
जेठ २०, २०७९ शुक्रबार ९:२२ बजे

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनलाई लिएर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ ।

माओवादीले जिसस गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति भएसँगै गठबन्धन टुटेको हो । बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ ।


एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमतिअनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र ४ सदस्य माओवादी केन्द्रले लिने गरि सहमति भएको जानकारी दिए ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ मतभार आवश्यक पर्दछ । स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख/उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो ।

सहमतिका लागि बसेको तीन दलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केन्द्रीय प्रवक्ता दामोदर पण्डित, केन्द्रीय सदस्य रमेश विक, रामलाल थारु र लालवीर चौधरी, त्यस्तै नेकपा एमालेका तर्फबाट कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही रहेका थिए, भने माओवादी केन्द्रका तर्फबाट कैलाली इन्चार्ज हरि ज्ञवाली र निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर लगायतको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x