सुदूरपश्चिम

लागूऔषधसहित तीन जना समातिए

इकागज |
जेठ २४, २०७९ मंगलबार १०:५२ बजे

कैलाली- लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ मिलनचोक घर भई डोटीको जोरायल गाउँपालिका-२ बुडरमा होटेल सञ्चालन गर्दै आएका ४५ वर्षीय प्रेमकुमार रेग्मी, रेग्मीलाई लागूऔषध सप्लाई गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४८ वर्षीय दुग्गड भनिने तेजबहादुर खड्का र मोहन्याल गाउँपालिका-७ बडिगाँउका १८ वर्षीय भावेश थापा रहेका छन् । उनीहरूलाई प्रहरीले फरक-फरक स्थानबाट पक्राउ गरेको हो ।

रेग्मीलाई अत्तरिया बजारमा लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा २० ग्राम ४१ मिलिग्राम खैरो हिरोइन र २० हजार नगदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । गोदावरी नगरपालिका-४ गोदावरी चेक पोष्टस्थित से १ च ६२९ नम्बरको बोलेरो जिप चलाइरहेका रेग्मीले लगाएको सर्टको खल्तीबाट कालो प्लाष्टिकमा पोका पारी लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणमा लागूऔषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 


रेग्मीसँग प्रारम्भिक सोधपुछको क्रममा उक्त लागूऔषध खड्काबाट १ लाख २० हजारमा खरीद गरेको भनि खुल्न आएपछि खड्कालाई पनि पक्राउ गरिएको प्रवक्ता जोशीले बताए ।

त्यस्तै मोहन्याल गाउँपालिका-७ बडिगाँउका थापालाई ४६० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनलाई लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली पुलमुनिबाट पक्राउ गरिएको बताइएको छ।
 


Author

थप समाचार
x