सुदूरपश्चिम

महाकालीमा भारतले बनाएको तटबन्धको दुई देशका अधिकारीद्वारा स्थलगत निरीक्षण

नवराज पनेरु |
चैत ३१, २०७७ मंगलबार १३:१९ बजे

धनगढी : महाकाली नदीमा भारतले एकतर्फी रूपमा नदीको धार परिवर्तन हुने गरी निर्माण गर्न थालेको तटबन्धको दुई देशका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैको नेपाली भूमीमा भारतले तटबन्ध निर्माण सुरु गरेपछि सोमबार दुबै देशका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका हुन् । 

दुबै देशका अधिकारीहरूले विरेन्द्रवनको पारिपट्टी मिचिएको भूमीको निरीक्षण गरेका हुन् । भारतका तर्फबाट जैतेन्द्र सिहको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो भने नेपालको तर्फबाट नापी विभागका उप सचिव दयानन्द जोशी नेतृत्वको पाँच सदस्यीय टोली विवादित स्थानमा पुगेको हो । यस्तै नेपाल–भारतका सुरक्षाकर्मी पनि टोलीमा सहभागी थिए । स्थलगत निरीक्षणपछि नापी विगभाका उपसचिव जोशीले भारततर्फ गएको भूमिको प्वाइन्ट खोज्ने कार्य गरिने बताए । उनले भने, ‘के कति भूमी मिचिएको हो भन्नेबारे खोजी गरिरहेका छौं । सकेसम्म विवाद निरुपण गर्छौ ।’ 


२०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा नेपाली भूमी नदीपारि परेको थियो । अहिले भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गर्न थालेको हो । भारतले नेपालको सहमतिविनै एकतर्फी रूपमा नेपाललाई असर पर्ने गरी तटबन्ध निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले पटकपटक पत्रचार गरेको थियो । तटबन्ध निर्माणको काम रोक्न माग गर्दै संघीय सांसद दिलेन्द्रप्रसाद बडुले संसदमै आवाज उठाएका थिए । २०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन हुँदा नेपालतर्फको करिब एक हजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको थियो । 
 


Author

थप समाचार
x