Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

बाढीपहिरोबाट ज्यान गुमाएकालाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने

इकागज |
असोज ३, २०७९ सोमबार २१:२२ बजे

फाइल फोटो

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको प्रदेश विपत् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र  प्रतिव्यक्ति २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए । बैठकले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई जनही रु ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको  छ ।


पछिल्लो समयमा डेङ्गुको समेत प्रकोप बढेकाले यसको नियन्त्रणका लागि झूल रु १० लाखको खरिद गरी वितरण गरिने छ । त्यस्तै विपतबाट पीडित परिवारलाई त्रिपाल र म्याट रु १०/१० लाखको खरिद गरी वितरण गर्ने निर्णय भएको छ ।

त्यसैगरी बाढी र पहिरोबाट विस्थापित भएका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रारम्भिक द्रुत लेखापरीक्षणमा आधारित भई प्रतिपरिवार रु दुई हजारका दरले खाद्यान्नबापत रकम वितरण गर्न विभिन्न स्थानीय तहलाई रु एक करोड उपलब्ध गराउन स्वीकृतिका लागि प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ को दफा ११ को उपदफा (२)  बमोजिम प्रदेश विपद् व्यवस्थापन परिषद्मा पेस गरिने मन्त्री रावलले बताए । 

विपद्का कारण जनजीवन विच्छेद भएका स्थानमा राहत सामग्री पुर्‍याउन संघीय सरकारसँग समन्वय गरी आवश्यक ढुवानीको व्यवस्था गरिने छ । जिल्ला विपद् व्यवस्थापन समिति अछाम, कैलाली, र कञ्चनपुरबाट माग भएबमोजिमको बाढी, पहिरो पीडित/प्रभावितहरुलाई राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।

गत शुक्रबार आएको बाढीपहिरोमा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको आन्तरिक मामिला तथा  कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले बताए । कैलालीमा तीन र कञ्चनपुरमा दुईजनाको मृत्यु भएको थियो । 

त्यस्तै बाढी र पहिरोमा परी कैलालीमा पाँच हजार ७८, कञ्चनपुरमा चार सय २० र अछाममा एक सय ११ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । रासस


Author

थप समाचार
x