कैलालीको पाँचै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारी, रेशमले जितेको क्षेत्रमा रञ्जिता
फाइल तस्बिर
कैलाली- गत स्थानीय तह निर्वाचनमा कैलालीका अधिकांश पालिकामा दबदबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ ।
उन्मुक्तिले आफ्नो बलियो आधार क्षेत्र मान्दै आएको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् । श्रेष्ठ अखण्ड थरुहट आन्दोलनका क्रममा टीकापुर क्षेत्रमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीकी श्रीमती हुन् ।
श्रीमान् विजयी भएकै क्षेत्रमा यसपल्ट रञ्जिताले उम्मेदवारी दिएकी हुन् । उनले पाँचदलीय गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र कुँवरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
गत स्थानीय निर्वाचनमा कैलाली १ मै पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो । टीकापुरका अधिकांश वडासहित प्रमुख र जानकीमा पनि बहुमत वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उन्मुक्तिले जित हात पारेको थियो ।
यसैगरी, नागरिक उन्मुक्तिले क्षेत्र नम्बर २ मा संघतर्फ कांग्रेसबाट उन्मुक्ति प्रवेश गरेका अरुण चौधरी र प्रदेशमा २ (क) मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ भने (ख) मा एमालेबाट प्रवेश गरेका रतन थापालाई टिकट दिएको छ । (क) मा थारू समुदायको बाहुल्य छ भने ‘ख’ मा पहाडी समुदायको बाहुल्य छ ।
त्यस्तै, कैलाली क्षेत्र नम्बर ३ मा गंगा चौधरीलाई उम्मेदवार बनाएको छ । युवा नेता चौधरी अहिले उन्मुक्तिका केन्द्रीय सदस्य पनि हुन् । यसैगरी, प्रदेशतर्फ ३ (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यही क्षेत्रमा पर्ने भजनी नगरपालिकाका अधिकांश वडासहित प्रमुख उपप्रमुख दुवै पदमा उन्मुक्तिले जित हासिल गरेको थियो ।
यसैगरी, उन्मुक्तिबाट क्षेत्र नम्बर ४ मा कैया चौधरी प्रतिनिधिसभातर्फ उम्मेदवार भएका छन । कैया राप्रपा परित्याग गरि उन्मुक्ति प्रवेश गरेका हुन ।प्रदेशतर्फ (क) मा राजेन्द्र देवकोटा र (ख) मा कमलप्रसाद भाटको उम्मेदवारी परेको छ ।
धनगढी उपमहानगरपालिका क्षेत्र पर्ने क्षेत्र नम्बर ५ मा लक्ष्मण थारूले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन । थारु टिकापुर आन्दोलनमा दोषी ठहर भै जेल जीवन बिताएर रिहा भएका हुन । क्षेत्र-५ को प्रदेश (क) मा गोठेराम चौधरी र (ख) मा श्रीराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया