गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर
सुदूरपश्चिम- आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरूलाई भोट नआउने डर बढेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन् । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका उम्मेदवारलाई भोट दिनुको साटो स्वतन्त्रलाई मत दिने आशङ्का उनीहरूले गर्दै आएका छन् ।
स्वतन्त्र उम्मेदवार भने राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तानेर चुनाव जित्ने दाउमा छन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र,) नेकपा (एकीकृत समाजवादी)सहितले गठबन्धन गरेका छन् भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले पनि एकआपसमा तालमेल गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले जिल्लाका सबै प्रतिनिधि सभा र प्रदेश सभाका सिटमा भागबण्डा गरेर उम्मेदवार उठाएका छन् । जिल्लाका कुनै पनि क्षेत्रमा आफ्ना प्रत्यासी नउठाएको राष्ट्रिय जनमोर्चाको सत्ता उम्मेदवारलाई साथ दिएको छ । कैलालीको निर्वाचन क्षेत्र–१ मा राजपा र नेकपा एमालेबीच तालमेल छ ।
निर्वाचन नजिकिएसँगै यतिबेला सार्वजनिकस्थल, चिया पसल र चोकमा भेला हुने बीचमा यस्तै विषयले प्राथमिकता पाउने गरेको छ । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताका पक्षका मत तान्ने दाउमा देखिएका स्वतन्त्र उम्मेदवार पक्षधर एक कार्यकर्ताले भने, 'टिकट वितरणका क्रममा बढेको असन्तुष्टिको फाइदा स्वतन्त्र उम्मेदवार हुने अनुमान गर्न सकिन्छ ।'
नेकपा (एमाले)का नेता चूडामणि भट्ट टिकट वितरणका क्रममा पार्टीभित्र देखिएको असन्तुष्टि कम हुँदै गएको दाबी गर्छन् ।
प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस नेता कमल शाह गठबन्धनको मत अन्यत्र नजाने दाबी गर्छन् । 'निकै कम मत अन्यत्रै जान सक्ला तर धेरै मत गठबन्धनका उम्मेदवारले नै पाउँछन्,' उनले भने ।
जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभाका लागि जनता समाजवादी पार्टी र नेकपा (एमाले)बीच तालमेल गरिएको छ । जसमा नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा २ मा उम्मेदवार उठाएको छ भने प्रदेश सभा ‘क’ मा जसपाले उम्मेदवारी दिएको छ । जसपाका सुदूरपश्चिम इञ्चार्ज एवं प्रदेश सभाका निवर्तमान सदस्य मालामति रानाथारुले तालमेलअनुसार आफ्नो पार्टीका प्रत्यासीलाई एमालेबाट मत आउने विश्वास गर्छन् ।
'जिल्लाका अन्य क्षेत्रमा कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ,' उनले भने, 'क्षेत्र नं १ मा भने तालमेलअनुसार हाम्रो मत एमालेलाई जान्छ, उनहरूको मत हामीलाई आउने अपेक्षा गरेका छौँ ।' नेकपा एकीकृत समाजवादीका नेता दिनेशचन्द्र सुवेदीले सत्ता गठबन्धनको मत टिकट पाएका उम्मेदवारमा जाने दाबी गर्छन् । 'एक/दुई प्रतिशत मत दायाँबायाँ भए पनि धेरै मत गठबन्धनका उम्मेदवारलाई नै जान्छ,' उनले भने ।
स्वतन्त्रको चुनौती
कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)मा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा मुख्य राजनीतिक दलका प्रत्यासीका लागि चुनौती बनेका छन् ।
पाँच वर्षअघिको चुनावमा यसै क्षेत्रबाट उम्मेदवार बनेकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तर्घात गरी पराजित गरेको भन्दै ओझालाई कांग्रेसको कारबाही गरेको थियो ।
उनले पाउने मतका आधारमा चुनावी परिणाम प्रभावित हुनसक्ने एकथरीको विश्लेषण छ । कांग्रेसका प्रत्यासी डिल्लीराज पन्त भने दलीय व्यवस्थामा स्वतन्त्रको हैसियत धेरै नहुने भएकाले आफ्ना लागि चुनौती नरहेको दाबी गर्छन् । उनले भने, 'आम कांग्रेसको मतसँगै गठबन्धन दल समर्थितको मत आउँदा आफूलाई चुनाव जित्नेमा विश्वस्त छु ।' यसै क्षेत्रबाट प्रत्यासी रहेका नेकपा एमाले नेता नारदमुनी रानाले पनि आफू चुनाव जित्ने दाबी गर्छन् ।
स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले भने राजनीतिक दलप्रति बढ्दै गएको दिशाहीनता र निराशाका कारण मतदाताले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको दाबी गरे ।
यस क्षेत्रमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । साथै स्वतन्त्र उम्मेदवारमा गगनबहादुर धामी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, तमलोपाका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी र दर्लामीमगर पनि प्रत्यासी हुन् ।
प्रदेश सभा १ मा माओवादीको तर्फबाट रमेश धामीले टिकट पाउँदा माओवादीकै वागी उम्मेदवार रमेश बस्नेत र प्रदेश सभा ‘ख’ मा कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले टिकट पाउँदा कांग्रेसबाट राजीनामाको घोषणा गर्दै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश २ मा एमालेका दुर्गाप्रसाद जोशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लोहार, नागरिकउन्मुक्ति पार्टीका गोठु चौधरी, नपाली कांग्रेस बिपीका दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर, राप्रपाका शिवराज भण्डारी पनि प्रतिस्पर्धी छन् ।
प्रदेश सभा १ बाट एमालेको तर्फबाट टिकट पाएका यज्ञराज बाँस्तोलाको टिकट अन्तिम अवस्थामा खोसेर नेपालु चौधरीलाई दिइएपछि सो पार्टीमा समेत असन्तुष्टि छ ।
बाँस्तोलाले पार्टी नै परित्याग गरेका छन् । प्रदेश सभा १ का प्रत्यासी राप्रपाका पुष्करदत्त भट्ट र नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरी पनि बलियो प्रतिस्पर्धी छन् । कैलारी गाउँपालिकाका दुई वडा र धनगढी उपमहानगरपालिकाका १९ वडा समावेश गरिएको क्षेत्र ५ का वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षले २२ हजार सात सय ७९, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार नौ मत पाएका थिए । एमालेका वडाध्यक्षले १७ हजार चार सय २०, राप्रपाका वडाध्यक्षले दुई हजार तीन सय ६१ मत पाएका थिए ।
क्षेत्र १ मा उन्मुक्ति पार्टीसँग अन्य दलको टक्कर
कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ । विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ (टीकापुर क्षेत्र) लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो ।
विसं २०७४ सङ्घीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जितेका थिए ।
त्यतिबेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो । प्रदेश सभा १ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेश सभा १ बाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले चुनाव जितेका थिए।
अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी छन् । चाैधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया