सुदूरपश्चिम

दार्चुलामै एपेन्डिसाइटिसको सफल शल्यक्रिया

इकागज |
बैशाख १०, २०७८ शुक्रबार २१:१९ बजे

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका-४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको हो ।

पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा विरामीमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डाक्टर आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।


अहिले आएर लिम्बू नेतृत्वको टोलीले एक पटक पुनः जिल्लामै सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पताल दार्चुलाका नायब सुब्बा आनसिंह डागाले जानकारी दिए । धामीको जिल्लामै सफल शल्यक्रिया भएपछि बिरामीका आफन्त पनि खुशी भएका छन् ।

'सफल शल्यक्रिया हुनु भनेको जिल्लामै पनि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ भन्ने हो', उनले भने । अस्पतालका अनुसार पछिल्लो तीन महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ भने हर्निया, हाइड्रोसिल र हार्डजोर्नीको पनि सफल शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । आर्थिक अभावले बाहिर लग्न सक्ने अवस्था नभएपछि परिवारको सहमतिमा नै जिल्लामै अप्रेशन गरिएको हो ।


Author

थप समाचार
x