Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

सुदूरपश्चिममा नयाँ सांसदलाई शपथ ग्रहण गराउने तयारी

इकागज |
पुस ५, २०७९ मंगलबार १८:५१ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने तयारी थालेको छ । ५३ सदस्यीय प्रदेशसभाका सांसदको यही पुस ११ गते शपथग्रहण गराउने तयारी सचिवालयले गरेको छ ।

प्रदेश संसद्‌‌ले शपथग्रहण गरेपछि मासिक पारिश्रमिक, भत्तालगायतका सुविधा पाउनेछन् । सुदूरपश्चिम प्रदेशसभाका सांसदहरुले मासिक न्यूनतम ८५ हजार ५०० रुपैयाँ सम्म पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार मासिक पारिश्रमिक ५६ हजार ५ सय, आवास वाफत १७ हजार, धारा/बिजुली २ हजार, पत्रपत्रिका तथा संचार ३ हजार र अतिथि सत्कारमा ७ हजार रुपैयाँ सुविधा पाउनेछन् ।


त्यस्तै आवास सुविधाबापत पाउने १७ हजार भने प्रदेशसभा भवनदेखि १५ किलोमिटर क्षेत्र भित्रमा आफ्नै घर भएकाहरुले भने नपाउने व्यवस्था छ । तर, घर मर्मत वापत वाषिर्क ३५ हजार रुपैया भने पाउने छन् । साथै, कार्यकाल भरिमा एक पटकका लागि एकमुष्ट एक लाख रुपैयाँ फर्निचरका लागि पाउने व्यवस्था छ ।

यसैगरी, सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षको संसदीय दलका नेता, सत्तारुढ दलको प्रमुख सचेतक र विषयगत समितिका सभापति, सत्तारुढ र विपक्षी दलको प्रमुख सचेतकले अतिरिक्त सेवा सुविधाहरु पाउने प्रावधान छ । सांसदहरुको मासिक पारिश्रमिक ५६ हजार ५०० रहेकोमा सभामुखको ६४ हजार, उपसभामुख र विपक्षी दलको संसदीय दलका नेताको ५९ हजार ५००, सत्तारुढ दलका प्रमुख सचेतकको ५७ हजार ५०० र विपक्ष दलको प्रमुख सचेतकको ५७ हजार रुपैयाँ तोकिएको छ । त्यसबाहेक उनीहरुले पनि आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार शीर्षकमा अतिरिक्त सुविधा पाउने व्यवस्था छ ।


Author

थप समाचार
x