सुदूरपश्चिम

भारतमा नेपाली : महामारीमा महाबिजोग !

अस्पताल चहार्दाचहार्दै ज्यान गुमाउँछन् संक्रमित

नवराज पनेरु |
बैशाख १५, २०७८ बुधबार १२:१८ बजे

गौरीफन्टा : भारतको राजधानी नयाँ दिल्लीमा बस्ने मनोज भट्टलाई एक साताअघि कोभिड–१९ संक्रमण भयो । भट्ट सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्षसमेत हुन् । पहाड बैतडी र तराई धनगढी घर भएका उनलाई कोभिड संक्रमण भएपछि दिल्लीका दर्जनौँ अस्पताल पुगाइयो। तर, ठाउँ नपाउँदा कतै भर्ना पाइएन् । 

सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्ल भन्छन्,‘कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो तर दिल्लीमा अस्पताल नै खाली थिएनन्, उपचारका लागि कञ्चनपुरको महाकाली अस्पताल ल्याउँदै गर्दा भट्टको बाटोमै मृत्यु भयो ।’ 


दिल्लीमा अक्सिजन सहायतामा उपचार नपाएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा भट्टको मृत्यु भएको हो । बाजुराको बुढीगंगा नगरपालिका –७ झालीका ३४ वर्षीय शंकर कटुवालको पनि कोभिड संक्रमणबाट भारतमा मृत्यु भएको छ । भारतका दुईवटा अस्पतालमा पुग्याउँदा पनि उनको जोगिन सकेन। मृतक कटुवाल जनमुक्ति सेनाका पूर्वलडाकुसमेत हुन् । 

मंगलबार त्रिनगर–गौरीफन्टा नाकामा भारतको दिल्लीबाट स्वदेश फर्किँदै गरेका डोटीका इन्द्र भुलले भने,‘दिल्लीमा भारतीय नागरिककै उपचारका लागि समस्या छ, नेपाली संक्रमितले उपचार पाउने सम्भावना नै छैन् । अस्पताल चहार्दाचहार्दै ज्यान जान्छ ।’ 

भुलका अनुसार भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन तीन तहकै सरकारले पहल गर्नुपर्ने देखिन्छ । तर, यसो भइरहेको छैन । सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टको धारण पनि फरक छैन् । ‘भारतमा दैनिक साढे तीन लाख संक्रमित थप भइरहेका छन्,’ उनले भने,‘त्यहाँका नागरिक नै उपचार नपाएर ज्यान गुमाइरहेका छन्, त्यस्तो अवस्थामा नेपालीले उपचार पाउने सम्भावना नै छैन् ।’ 

भट्टका अनुसार कोभिड संक्रमित नेपालीले भारतका अस्पतालमा भर्ना नै पाइरहेका छैनन् । भारतमा संक्रमितले उपचार नै नपाउने समस्या भएपछि कैलालीको त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्कने नेपालीको घुइँचो छ । त्रिनगर–गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार अनुसार पछिल्लो ७० दिनमा त्रिनगर नाका भएर झण्डै ३७ हजार नेपाली स्वदेश फर्किएका छन् । 

भारतबाट फर्किएका मध्ये १४ हजारको एन्टिजेन परीक्षण गर्दा १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको छ । स्वदेश फर्किएकामध्ये झण्डै ६० प्रतिशत अर्थात् २२ हजार नेपाली भने परीक्षण बिनै घर पुगेका छन् । भारतमा कोभिडसंक्रमितले उपचार नपाउने भएपछि जन्मभूमि फर्किरहेका नेपाली यहाँ पनि सुरक्षित छैनन् । पछिल्लो दुई महिनामा कोभिडाबाट बच्न भारतबाट सुदूरपश्चिम फर्किएका १० जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । 

सुदूरपश्चिम प्रदेशमा गम्भीर प्रकृतीका कोभिड संक्रमितको उपचारका लागि जनशक्ति र उपकरणको चरम अभाव छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशमा १९ वटा भेन्टिलेटर र २७ शैयाको आईसियू मात्र उपलब्ध रहेको जानकारी दिए । उनले भने,‘पहाडी जिल्लामा भएका उपकरण पनि चल्न सकेका छैनन् । जनशक्तिको व्यवस्थापनमा हामी जुटेका छौँ ।’


Author

थप समाचार
x