सुदूरपश्चिम

इकागज संवाद

‘यो सुनामी हो, कसलाई लैजान्‍छ र को बाँच्छ थाहा छैन’

‘हामी केही गर्न नसक्ने अवस्थामा छौँ’

नवराज पनेरु |
बैशाख १६, २०७८ बिहीबार १६:५२ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमण र मृत्युदर दैनिक बढिरहेको छ । भारतमा दोस्रो चरणको महामारी तीब्र रूपमा फैलिरहेको बेला सुदूरपश्चिममा जोखिम झन् बढेको छ । यहाँ भारतबाट नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पताल संक्रमितले भरिभराउ छन् । थप बिरामीको उपचार गर्न सकिने अवस्था छैन् । प्रदेश सरकारले कोभिड विषेश अस्पताल घोषणा गरेको सेती प्रादेशिक अस्पतालका ५५ श्यैयामा ६० जनाको उपचार भइरहेको छ । उनीहरूमध्ये तीन जनाको भेन्टिलेटर र १२ जनाको आइसीयूमा उपचार भइरहेको छ । 

आवश्यक उपकरण र जनशक्तिको व्यवस्था नहुँदा स्थिति भयावह हुन थालेको चिकित्सकहरू बताउँछन् । यसै सन्दर्भमा इकागजका सुदूरपश्चिम प्रतिनिधि नवराज पनेरुले सेती प्रादेशिक अस्पतालका कोभिड–१९ विभाग प्रमुख डा. शेरबहादुर कमरसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:


कोभिड–१९ संक्रमितले अस्पताल भरिभराउ भएका छन् । कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 
- सेती प्रादेशिक अस्पतालमा अहिले कोभिड बिरामीको लागि छुट्याइएका बेड भरिएका छन् । थप बिरामीलाई राख्न सक्ने अवस्था छैन । गम्भीर प्रकृतिका बिरामीको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका छौँ । मध्यम र कडा लक्षण भएका बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेका छौँ। अन्य संक्रमितलाई घरमै सुरक्षित भएर बस्न आग्रह गरिरहेका छौँ ।

गम्भीर प्रकृतिका बिरामीलाई पुग्ने आइसीयू बेड र भेन्टिलेटरको व्यवस्था छ त ? 
- कोरोना संक्रमण दर बढेपछि गम्भीर प्रकृतीका बिरामीको संख्या पनि बढेको छ । हामीसँग आइसीयू र भेन्टिलेटर थोरै मात्र छन् । गम्भीर प्रकृतिका बिरामीको संख्या बढी छ । सबै भेन्टिलेटरले काम पनि गर्दैनन् । त्यसैले सीमित बिरामी मात्र भर्ना गर्नुपर्ने बाध्यता छ । 

उपलब्ध आइसीयू र भेन्टिलेटरभन्दा गम्भीर प्रकृतिका संक्रमितको संख्या बढी रहेछ । कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
- अब कसैले पनि व्यवस्थापन गर्न सक्दैन । हामीसँग विगतमा थुप्रै समय थियो । त्यो बेला कसैले केही गरेन । अब एकैचोटी धेरै बिरामीको व्यवस्थापन गर्न सकिदैन । ‘आउट अफ कन्ट्रोल’ भइसक्यो । देश सञ्चालन गर्नेहरूले हाम्रो जनसंख्या यति हो । यति जनसंख्यालाई यति बेड चाहिन्छ । कुनै महामारी भयो भने हामीले कसरी व्यवस्थापन गर्ने ? लगायतको विषयमा पहिले नै तयारी गर्नुपर्थ्योे । अब एक्कासि हुरी-बतास जस्तो संक्रमण बढिसकेपछि व्यवस्थापन गर्न मुस्किल हुन्छ ।

अहिले उपकरण त ल्याउन सकिएला तर तत्काललै ती उपकरण चलाउने जनशक्ति तयार पार्न सक्दैनौ । उपकरण मात्र थपेर ४० वर्ष अगाडिको जनशक्तिले चलाउन सक्दैनन् । नीतिगत तहमा राम्रो काम नभएपछि जनताले यस्तैगरी दुख पाउँछन् । यो त सुनामी जस्तै हो । सुनामीले कसलाई लान्छ र को बाँच्छ थाहा छैन । हामी केही गर्न सक्ने अवस्थामा छैनौँ ।

महामारी सुरु भएकै एक वर्ष बढी भइसक्‍यो। सुरुवातदेखि प्रभावकारी व्यवस्था गर्नेतर्फ कसैले ध्यान दिएन । अहिले अब केही गर्न सकिदैन भन्न मिल्छ ?-- - सतप्रतिशत सही हो । एक पटक दुख पाइसकेपछि सजक बन्नुपर्ने थियो । तर यहाँ एक जना जनशक्ति पनि थप गरिएन । भवन बनाउने र उपकरण खरिदमा मात्रै चासो भयो । उपकरण चलाउने जनशक्तिको व्यवस्थापनमा कसैले पनि चाँसो दिएन । 

अब सरकार र जनतालाई तपाईंको सुझाव के छ ? 
- विगत एक वर्षदेखि नै हामीले भन्नुपर्ने कुरा भनिरहेका छौ । हामीले भनेका कुरा कसैले गम्भीर रूपमा लिएन । सकेसम्म आफू बच्ने हो । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य रूपमा गर्न र भौतिक दूरी कायम गर्न आग्रह गर्दछु । अनावश्यक रूपमा बाहिर नजाऔं । घरभित्रै बस्दा हामी सबैभन्दा बढी सुरक्षित हुन्छौं । सरकारले संक्रमितको उपचारका लागि सबैभन्दा पहिले श्यैयाको व्यवस्था गर्न आवश्यक छ । अक्सिजन उत्पादन गर्ने कम्पनीसँग सल्लाह गरेर अथवा प्लानट जडान गरेर भए पनि अक्सिजनको व्यवस्था गर्न आवश्यक छ ।


Author

थप समाचार
x