सुदूरपश्चिम

सुदूरपश्चिमका आइसोलेशन

'प्राणवायु'को अभावमा तड्पिन्छन् संक्रमित

'अक्सिजन प्लान्ट'को क्षमता छ उत्पादन छैन, सरकार भन्छ–‘व्यवस्थापनमा जुटेका छौँ’

नवराज पनेरु |
बैशाख १८, २०७८ शनिबार १४:८ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजनको चरम अभाव देखिएको छ । प्रदेशमा अक्सिजन नपाएर कोभिड–१९ संक्रमितले ज्यान गुमाउनुपर्ने बाध्यता देखिएको हो ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा.शेरबहादुर कमर भन्छन्,‘कोरोना भाइरसका गम्भीर संक्रमितको संख्या बढ्दै गएको अवस्थामा यसको औषधि भनेकै अक्सिजन हो ।’ 


डा.कमरले भनेजस्तै अहिले अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन नै चाहिएको छ । दैनिक ७५वटा अक्सिजन सिलिण्डर उत्पादन गर्नसक्ने क्षमता सेती प्रादेशिक अस्पतालको छ । तर, आफ्नै अक्सिजन प्लान्ट भए पनि अस्पतालले क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न सकेको छैन ।

‘गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या छ,’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भन्छन्,‘त्यसैले हामीले क्षमता अनुसार अक्सिजन उत्पादन गर्न सकेका छैनौँ, अहिले दैनिक ५५ सिलिण्डर मात्र उत्पादन भइरहेको छ, उत्पादनको दोब्बर माग छ ।’ 

श्रेष्ठ अस्पतालमा अक्सिजन सिलिण्डरकोसमेत अभाव छ । कञ्चनपुरको महाकाली अस्पतालले पनि माग अनुसार अक्सिजन व्यवस्थापन गर्न सकेको छैन । धनगढी र नेपालगञ्जबाट यसअघि अक्सिजन आपूर्ति गर्दै आएको महाकाली अस्पतालले अहिले अक्सिजन पाइरहेको छैन । 

अर्कोतर्फ सुदूरपश्चिम प्रदेश सरकारले पनि सबैभन्दा ठूलो समस्या अक्सिजनको रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकार अक्सिजनको आपूर्तिमा गम्भीर रहेको तर सुदूरपश्चिममा उद्योग कम हुँदा समस्या भएको बताँछन् । 

‘धनगढीमा रहेको ग्यास उद्योगबाट एक सय र नेपालगञ्जबाट एक सय सिलिण्डर अक्सिजन दैनिक आपूर्ति गर्ने व्यवस्था मिलाइरहेका छौँ,’ प्रवक्ता कार्की भन्छन्,‘अक्सिजन प्लान्ट जडान, अक्सिजन कन्सेनटेटर र सिलिण्डर खरिदका लागि सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र जिल्ला स्तरिय अस्पताललाई बजेट दिएका छौँ ।’ 

कार्कीका अनुसार टीकापुर अस्पताल र प्रदेशका ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडानका लागि ८०/८० लाख बजेट पठाउन सुनिश्चितताको पत्र तयार भएको छ । त्यस्तै अक्सिजन कन्सेनटेटर र सिलिण्डर खरिदका लागि सेती प्रादेशिक अस्पताललाई ४० लाख, महाकाली र टीकापुर अस्पताललाई ३०/३० लाख तथा अन्य ६ जिल्ला अस्पताललाई २०/२० लाख बजेट व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए । 

शैया व्यवस्थापन

सुदूरपश्चिम प्रदेशमा अहिले गम्भीर प्रकृतिका संक्रमितलाई शैया पाउनै मुस्किल छ । आइसियू र भेन्टिलेटरको सुविधा रहेको सेती र महाकाली अस्पतालमा त शैया पाउन झनै समस्या देखिन्छ । 

यता प्रदेश सरकारले भने थप शय्या व्यवस्थापन भइरहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामूदायिका अस्पतालमा ४० र विभिन्न नीजि अस्पतालमा २५ शैया संक्रमितको उपचारका लागि व्यवस्थापन भइसकेको जानकारी दिए । 

‘धनगढीमा थप ५० शैयाको कोभिड अस्पताल निर्माण भइरहेको छ,’उनी भन्छन्,‘गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनको पनि तयारी भइरहेको छ ।’ 
गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल प्रदेश वा संघीय सरकारमा कसले सञ्चालन गर्ने टुङगो लागेको छैन । अहिले अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि तयारी गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई जिम्मा दिइएको छ । यस्तै भएका उपकरण पनि जनशक्ति अभावले थन्किएपछि प्रदेश सरकारले जनशक्ति व्यवस्थापनमा पनि जुटेको जनाएको छ । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्की भन्छन्,‘स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन रिक्त दरबन्दी र आवश्यक स्वास्थ्यकर्मी करार सेवामा लिन सम्बन्धित कार्यालयलाई पत्राचार गरेका छौँ ।’


Author

थप समाचार
x