सुदूरपश्चिम

गौरीफन्टाबाट स्थलगत

सीमा नाकामा ‘लुट’को महामारी

नेपाली मजदुर कोभिड-१९ सँगै लुटको महामारीबाट पीडित भइरहेका छन् !

नवराज पनेरु |
बैशाख १९, २०७८ आइतबार ११:१२ बजे

 

स्थान : त्रिनगर–गौरीफन्टा नाका, कैलाली । 


समय : शनिबार, मध्यान्न १२ बजे  ।

रुखको छहारीमा १३ देखि १९ वर्षसम्मका युवकहरू बसेका छन् । साथमै एउटा झोला पनि बोकेका छन् । कोभिड–१९ को संक्रमण छिचोल्दै उनीहरू नेपाल–भारत सीमासम्म आइपुगेका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका राजेन्द्र साउँद त्रिनगर–गौरीफन्टामा बेचैन देखिन्थे । उनी भारतको बेङ्लोरबाट जसोतसो यहाँसम्म आइपुग्न सफल भएका थिए । तर, उनी बेचैन हुनुको कारण कोभिड महामारी थिएन । कारण थियो– नाकादेखि बैतडीसम्मको चर्को भाडा । उनको समूहसँग प्रयाप्त गाडीभाडा थिएन । भएको रकम पनि सकिने अवस्थामा थियो ।  

राजेन्द्र घरी खचाखच भरिएको बसमा बस्छन् । घरी उत्रिन्छन् । उनी भन्दै थिए,‘दुई महिना अघि मात्रै मजदुरीका लागि बैतडीबाट भारत गएको हुँ, त्यतिबेला बैतडीबाट धनगढी आउँदा सात सय भाडा थियो, अहिले धनगढीबाट बैतडी जाँदा १५ सय भाडा छ ।’ 

कोभिड महामारीका कारण दुई महिना मात्र भारतमा बस्न पाएका राजेन्द्रसँग बैतडी पुग्नलाई गाडीभाडा अपुग थियो । जसका कारण उनी रुखको छहारीमा बसेर टोलाइरहेका थिए । उनी मात्र होइन, उनका साथीहरूको अवस्था पनि उस्तै छ ।  

दशगजाममै भेटिएका दीपक साउँदलाई घर पुग्न अत्यास लागेको छ । उनको घर बाजुरा हो । तर, उनको पीडा अलि फरक छ । सुन्निएका आँखा भुँइतिर दौडाउँदै उनी भन्छन्,‘दिल्लीस्थित आनन्दविहार बसपार्कबाट गौरीफन्टा नाकाको भाडा ६ सय भारु हो तर १२ सय भारु भाडा लिएर पलियाको जंगलमा छोडिदिए, पहिले भारतमा लुटिएँ अहिले बाजुरा जाँदा पनि दोब्बर भाडा माग्दैछन् ।’ 

कोभिड महामारीका कारण भारतबाट स्वदेश फर्किनेहरू धेरैजसो दुई÷तीन महिनाअघि मात्रै भारत गएका हुन् । उनीहरूसँग घर पुग्नका लागि खर्च अभाव भइरहेको छ । त्यसैमा यातायात व्यवसायीले भाडामा मनलाग्दी गरेपछि उनीहरू नाकामै बिचल्लीमा परेका छन् । 

कोभिडको दोस्रो लहरको संक्रमण भयावह हुन थालेपछि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा केही सार्वजनिक सवारी साधन मात्र सञ्चालन भएपछि यातायात व्यवसायीले भारतबाट फर्किएका नेपालीबाट दोब्बर भाडा असुल्न थालेका छन् । यता यातायात व्यवसायीले भने डेढ प्रतिशत बढी भाडा लिने सहमति नै भएको बताउँछन् । 

‘पहिलेभन्दा डेढ प्रतिशत भाडा बढाएर हामीले सवारी सञ्चालन गरेका छौँ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले भने,‘दोब्बर बढी भाडा लिएको विषयमा हामीलाई जानकारी छैन ।’ 

भारतबाट फर्किने नेपालीलाई घरसम्म पुगाउन यातायात प्रालिको पालो लगाइएको उनी बताउँछन् । भाडामा मनपरी भए पनि स्थानीय प्रशासन मौन बसेको आरोप पनि लागेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अनावश्यक भाडा असुलेको गुनासो आएको बताउँछन् । ‘प्रशासनको टोलीले आजै अनुगमन गर्छ, निर्धारित भाडा भन्दा बढी लिएको पाइएमा कारवाही गर्छौँ’, उनी भन्छन् । 


Author

थप समाचार
x