सुदूरपश्चिम

५ दिनसम्म आउँदैन पीसीआर रिपोर्ट

नवराज पनेरु |
बैशाख २०, २०७८ सोमबार १३:४५ बजे

धनगढी : प्राइम बैंक धनगढीका शाखा प्रमुखलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत थप चार जना कर्मचारीले बिहीबार सेती प्रादेशिक अस्पतालमा स्वाब दिए । स्वाब दिएपछि दोस्रो दिन नै परीक्षण रिपोर्ट आउने जानकारी उनीहरूलाई गराइयो । 

बैंकमा कार्यरत धनगढी उपमहानगरपालिका–१४ का कर्मचारी भन्छन्,‘शाखा प्रमुखलाई कोरोना पुष्टि भएपछि हामी तनावमा थियौँ । केही कर्मचारीमा कोरोनाको लक्षण पनि देखिएको थियो । तर चार दिनसम्म परीक्षण रिपोर्ट नआउँदा चिन्तित बनाएको थियो ।’ 


उनका अनुसार चार जना कर्मचारीको परीक्षण रिपोर्ट आइतबार साँझ मात्रै आएको छ । बिहीबार नै कोरोना परीक्षणका लागि धनगढी उपमहानगरपालिकामा स्वाब दिएका डोटीको बडिकेदार गाउँपालिकाका प्रकाश धामीले पनि चार दिनपछि मात्रै रिपोर्ट पाएका छन् । ‘लक्षण देखिएपछि मात्रै कोरोना परीक्षणका लागि जाने गरेका छौ,’ उनले भने, ‘परीक्षणमै ढिलाइ भएपछि आफूलाई मात्र होइन परिवार र आफन्तलाई पनि तनाव हुने गरेको छ ।’ 

कोरोना संक्रमण र मृत्यु दर बढेपछि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा स्वाब परीक्षणमा ढिलाइ हुन थालेको छ । केही शंंकास्पद व्यक्तिले भने नमुना संकलन गरेको पाँच दिनसम्म पनि रिपोर्ट नआएको गुनासो गरेका छन् । 

यता सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इञ्चार्ज रमेश शाहीले प्रयोगशालामा स्वाबको चाप बढेकोले केही ढिलाइ भएको बताए । ‘विगतमा कोरोना संक्रमण दर कम हुँदा पाँच जनाको स्वाब एउटैमा राखेर परीक्षण गर्ने गरेका थियौँ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेपछि सबैको छुट्टाछुट्टै परीक्षण गरिरहेका छौ । यसले पनि ढिलाइ भएको छ ।’ 

उनकाअनुसार सेती प्रयोगशालामा दैनिक तीनदेखि चार सय जनाको कोरोना परीक्षण भइरहेको छ । विगतमा एकै दिन हजार बढीको पनि परीक्षण हुने गरेको छ । प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा कोरोना जाँच गराउन स्वाब दिनका लागि पनि मुस्किल हुन थालेको छ । धनगढी उपमहानगरपालिकाले अहिले दैनिक दुई सय जनाको नमुना संकलन गरिरहेको छ भने सेती प्रादेशिक अस्पतालमा दैनिक एक सय जनाको स्वाब संकलन भईरहेको छ । 

प्रदेशका अन्य अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था भए पनि अधिकाशंले धनगढीमै आएर स्वाब दिने गरेका छन् । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले अन्य स्थानीय तहका व्यक्ति पनि धनगढी आउन थालेपछि स्वाब केन्द्रमा ठूलो भीड लाग्न थालेको जानकारी दिए । 

यता प्रदेश सरकारले भने सबै स्थानीय तहलाई स्वाब संकलन गर्न निर्देशन दिएको छ । ‘केही स्थानीय तहले अहिले पनि आफ्नै पालिकामा स्वाब संकलन गरिरहेका छन्,’सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने,‘अन्य सबै स्थानीय तहलाई पनि पालिकास्तरमै स्वाब संकलन गर्न आग्रह गरेका छौँ । यस्ले भीड व्यवस्थापनमा सहयोग गर्छ ।’


Author

थप समाचार
x