सुदूरपश्चिम

साविक विजेता सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएलको च्याम्पियन

इकागज |
फागुन ६, २०७९ शनिबार १९:३९ बजे

कैलाली । कैलालीको धनगढीमा सम्पन्न सातौँ संस्करणको विद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । 

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११.३ ओभरमै भेटायो । 


लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए जुन क्रममा अविजित रहँदै ३२ बलमा ७ चौका प्रहार गरे । आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए । सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले १/१ विकेट लिए।  

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इमरान र सोनुले ३५ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेनन् । 

लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले ४/४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए । हिक्मत महरा र सुवास रावलले १/१ विकेट लिए।  उपाधि सहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त गर्‍यो । उपविजेताले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्‍यो ।  प्रतियोगिताको प्लेयर अफ द सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए । उनले ५ खेलमा २ प्लेयर अफ द म्याच सहित १७९ रन र ५ विकेट लिएका थिए ।

आयुबले २० हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे । वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विजले चुनिए । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे । उदीयमान खेलाडी लिटल फ्लावरका सुबोध तिवारी चुनिदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरूलाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर, डिल्लीराज पन्त लगायतले पुरस्कार वितरण गरेका थिए ।


Author

थप समाचार
x