सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:१३ बजे

सुदूरपश्चिम​- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।


मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किएका छन् । 'विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहनुभएको छ । प्रदेश सभामा एमाले बाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ,' मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने ।

संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक/एक सदस्य छन् ।

पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव शाहीको दाबी छ । गत मङ्सिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेश सभामा विश्वासको मत पाउन असफल हुनु भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए ।


Author

थप समाचार
x