सुदूरपश्चिम

माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

इकागज |
फागुन २१, २०७९ आइतबार ११:४१ बजे

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि माओवादीले मत दिने भएको हो।

यसअघि हिजो माओवादीको सुदूरपश्चिम संसदीय दलले पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेको थियो। त्यसपछि माओवादीका अध्यक्ष दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएपछि विश्वासको मत दिने भएको हो ।


माओवादी सुदूरपश्चिम दलका नेता खगराज भट्टले विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागवन्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए।

प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठक बसिरहेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ। सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने जानकारी दिए।

माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्।

प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र प्रदेश सभा सदस्य गरि ४१ जनाको मत आफूले प्राप्त गर्ने मुख्यमन्त्री शाहले बताए ।


Author

थप समाचार
x