सुदूरपश्चिम

महामारीमा 'प्राणवायु'को कालोबजारी

मागअनुसार अक्सिजनको व्यवस्थापन गर्नै मुस्किल

नवराज पनेरु |
बैशाख २३, २०७८ बिहीबार १३:१ बजे

धनगढी : ५० जना गम्भीर प्रकृतिका काभिड–१९ संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा मंगलबार राति अक्सिजनको मौज्दात नै सकियो । संक्रमित तड्पिन थाले त अस्पताल व्यवस्थापनलाई अक्सिजनको जोहो गर्न मुस्किल पर्‍यो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेय भन्छन्, ‘राति जेनतेन व्यवस्थापन भयो । तीन दिनअघि अक्सिजन फिलिङ गर्न सय वटा सिलिण्डर नेपालगञ्ज पठाएका थियौँ । आज बिहान ती सिलिण्डर ल्याइएपछि अहिले राहत भएको छ ।’ 

सुदूरपश्चिममा अक्सिजन उत्पादन गर्ने एक मात्र उद्योग छ । धनगढीमा रहेको मालिका उद्योगले महामारीमा अक्सिजन आपूर्तिमा बदमासी गर्न थालेपछि झनै समस्या भएको हो । डा. पाण्डेयका अनुसार सेती प्रादेशिक अस्पतालमा मालिका उद्योगले आवश्यक अक्सिजन सिलिण्डर उपलब्ध गराउने सम्झौता गरेको थियो । ‘हामीले अक्सिजन आपूर्तिका लागि सम्झौता गर्न खोज्दा सबैभन्दा सस्तो (प्रति सिलिण्डर ४ सय) मा मालिका उद्योगले नै अक्सिजन उपलब्ध गराउने प्रस्ताव राख्यो र सम्झौता पनि गर्‍यो,’ डा. पाण्डेले भने, ‘दैनिक १८० अक्सिजन सिलिण्डर उत्पादन क्षमता रहेको र सय वटा सेती प्रादेशिक अस्पताललाई उपलब्ध गराउने सहमती थियो । तर अहिले आएर उक्त उद्योगले बढीमा ३०/३२ वटा सिलिण्डर अक्सिजन मात्रै उपलब्ध गराइरहेको छ ।’ 


सामान्य समयमा भने उक्त उद्योगले सेती प्रादेशिक अस्पताललाई माग भन्दा बढी अक्सिजन उपलब्ध गराउँदै आएको थियो । ‘पहिले उद्योगले भनेजति नियमित पठाउने गरेको थियो । अक्सिजनको माग बढेपछि सञ्चालकलाई बोलाएर माग अनुसार आपूर्ति गर्न आग्रह गरेका थियौँ । तर मागको आधा पनि अक्सिजन उक्त उद्योगबाट पाइरहेका छैनौँ,’ डा. पाण्डेयले भने । 

सेती प्रादेशिक अस्पताललाई मागअनुसार अक्सिजन उपलब्ध नगराएको उद्योगले निजी अस्पताल र व्यक्तिलाई भने महँगोमा बिक्री गर्दै आएको आरोप लागेको छ । मंगलबार मात्र कोभिडमुक्त भएका धनगढीका एक संक्रमितले भने, ‘सोही उद्योगबाट खाली सिलिण्डर लगेर अक्सिजन भरेको मात्र एक हजार पाँच सय रुपैँया तिरेको हुँ । सेती अस्पतालसंग चार सयमा सम्झौता भएकाले त्यहा आपूर्ति नगरिएको हुनसक्छ ।’ 

सुदूरपश्चिममा रहेको एक मात्र अक्सिजन उद्योगले पनि आपूर्तिमा बदमासी गरिरहेको गुनासोपछि सोमबार राति जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीको टोली उद्योगमा पुग्यो । चौधरीले भने, ‘सुरुमा उद्योगको कम्प्रेसर बिग्रिएको छ भन्दै उत्पादन नै रोकिएको जानकारी गराइयो । मर्मतका लागि जस्तो सुकै सहयोग गर्न पनि प्रहरी प्रशासन तयार छ भनेपछि सोही रातिबाट उत्पादन सुरु गरिएको थियो ।’ 

यता स्थानीय प्रशासनले भने बुधवारदेखि मालिका अक्सिजन ग्यास उद्योगबाट उत्पादित अक्सिजन प्रशासनले वितरण गर्ने निर्णय भएको जनाएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको नेतृत्वमा वाणिज्य कार्यालयका प्रमुख, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका प्रमुख स्वकीय सचिव हितेस ओझाको सहभागिता अनुगमन भएपछि यस्तो निर्णय भएको हो । 

मंगलबार नै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योगको अनुगमन गर्दै काभिड–१९ अस्पताललाई पहिलो प्राथमितामा राखेर अक्सिजन आपूर्ति गर्न निर्देशन दिएका थिए । 

महामारीमा उद्योगले मात्र नभएर सिलिण्डर सप्लायर्सले पनि बदमासी गरेको भेटिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा वाणिज्य कार्यालय, प्रहरी सहितको अनुगमन टोलीले धनगढीस्थित ड्रग सेन्टरमा छापा मारेको थियो । उक्त टोलीले  त्यहाँबाट ५० वटा भरिएका सिलिण्डर र ११ वटा खाली सिलिण्डर फेला पारेको छ । वाणिज्य कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले अघिल्लो दिन २५० अक्सिजन सिलिण्डर खरिद गरेको बिल भेट्टिएको बताउँदै भने, ‘ती अक्सिजन सिलिण्डर बिक्री गरेको कागजपत्र र सिलिण्डर (गोदाममा भेटिएका ६१ बाहेक) भेटिएको छैन् ।’ साउनयता सिलिण्डरको खरिद बिक्रीका सम्पूर्ण कागजपत्र उनलाइ तीन दिनभित्र पेश गर्न समय दिइएको प्रमुख पुनले जानकारी दिए । ड्रग सेन्टरका सञ्चालक दुस्यन्त बस्नेतले यसअघि कीर्ते कागजात पेश गरेर टेण्डर हत्याएको आरोप लागेको थियो । 

मागअनुसार अक्सिनजको व्यवस्थापन गर्नै मुस्किल
सेती प्रादेशिक अस्पतालसंग दैनिक ७५ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट छ । तर अस्पतालले क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न सकेको छैन । ‘गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या छ,’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भन्छन्, ‘त्यसैले हामीले क्षमता अनुसार अक्सिजन उत्पादन गर्न सकेका छैनौँ, अहिले दैनिक ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको छ । उत्पादनको तीन गुणा बढी माग छ ।’ 

उनकाअनुसार पटकपटक अपिल गरेपछि अहिले आएर अस्पतालमा खाली सिलिण्डरको संख्या भने बढेको छ । ‘सेती अस्पतालसँग यसअघि ६४ वटा सिपिलण्डर थिए भने अहिले ५५ वटा खरिद गरेका छौ,’ उनले भने, ‘धनगढीका व्यवसायीलगायतले १४१ वटा सिलिण्डर अस्पतालालाई बुझाएका छन् । खाली सिलिण्डरको संख्या दुई सय ६० पुगेको छ ।’ 

उनले सुदूरपश्चिममा अक्सिजन उद्योग एक मात्र हुँदा फिलिङ गराउन समस्या भएको बताए । ‘खाली सिलिण्डर पठाएको तीन दिनपछि मात्रै अक्सिजन भरिएर आउँछ । त्यो अवधिमा मौज्दात अक्सिजन सकिने समस्याले माग र आपूर्तिको तालमेल मिलेको छैन,’ सूचना अधिकारी श्रेष्ठले भने ।


Author

थप समाचार
x