सुदूरपश्चिम

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

इकागज |
बैशाख ५, २०८० मंगलबार १२:५ बजे

कैलाली- सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्‍चिम विश्वविद्यालय अर्न्तगतको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गा रहेकोमा ३०० बिघा जग्गा अतिक्रमणमा परेको हो ।

२०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भएपनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ । अन्य तीन सय बिघा जमिन राजनीति आडमा मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । 


२०६२/०६३ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण हुन सुरु भएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले जानकारी दिए । उनले उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घर–परिवारले टहरा बनाएर क्याम्पसको जमिन हडपेको बताए ।

क्याम्पस प्रमुख कुँवरले कृषि एजी कार्यक्रम सञ्चालन गरेको बताउदै उक्त विषय अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययन गर्नसमेत स्थान अभाव भएको बताए । उनले जग्गा अभावमा विद्यार्थीहरूको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन समेत निर्माण गर्न नसकिएको बताए । क्याम्पसको जग्गा अतिक्रमण हटाई दिन नगरपालिकालाई पटक-पटक पत्राचार गरेको बताए ।

अतिक्रमण हटाउन स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि अतिक्रमण हटाउन नसकिएको क्याम्पस प्रमुख कुँवरले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयले छलफल गरेर अतिक्रमण हटाउने प्रयास गरिरहेको बताए । उनले क्याम्पसको जग्गामा पक्की संरचनाहरू समेत निर्माण भएको बताउदै उक्त संरचना हटाउन सबै राजनीतिक दलहरू सहमत भए मात्रै सम्भव हुने बताए । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताए । उनले क्याम्पसले अतिक्रमण हटाइदिन भनेर नगरपालिकालाई  पत्र पठाएको बताउँदै  समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकमत भएमात्रै सम्भव हुने बताए ।


Author

थप समाचार
x