सुदूरपश्चिम

जनताको माग र आवश्यकताका आधारमा काम गर्छु : मुख्यमन्त्री शाह

इकागज |
बैशाख ९, २०८० शनिबार २०:१९ बजे

तस्बिर : मुख्यमन्त्री कमलबहादुर शाह दार्चुला खलंगाको अनुगमन निरीक्षणका क्रममा, राष्ट्रको सातौं धाम मालिकार्जुन मन्दिरको पनि दर्शन गर्दै ।

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताका आधारमा काम गर्ने बताएका छन् । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको सभा हलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीहरूसँग गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले यस्ताे बताएका हुन् ।

'विगतमा भएका कमीकमजोरीहरूलाई सच्याएर प्रकृयागत ढंगले योजना तथा बजेट विनियोजन गरिने र जन्ताको पूर्ण निगरानीमा काम गर्ने उनकाे भनाइ छ । 
स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भइ आएका योजनाहरूलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरिन्छ । मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु,' उनले भने ।


उनले प्रक्रिया मिचेर आएका योजनाहरू कार्यान्वयनमा नल्याउने बताए । सोर्स फोर्सका आधारमा नभइ प्राथमिकताका आधारमा काम गर्ने गरिने उनकाे भनाइ छ ।

कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रिपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए ।

मुख्यमन्त्री शाहसँगै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिंह धामी, लक्ष्मी बिक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेब बिष्ट लगायतकाे टाेली दार्चुला आइपुगेका छन् । उक्त टाेलीले आजै गौरवको आयोजना दार्चुला टिङ्कर सडक र महाकाली तटबन्धको निरीक्षण समेत गरेको छ । भोलि बिहान महेन्द्र नमुना विद्यालय निरीक्षण तथा अनुगमन हुने प्रदेश सभा सदस्य बिक्रम सिंह धामीले बताए ।


Author

थप समाचार
x