सुदूरपश्चिम

ज्यान जोगाउन लाखौँ लाख खर्च गर्छन् संक्रमित, तर जोगिदैन ज्यान

नवराज पनेरु |
बैशाख ३०, २०७८ बिहिवार १५:३३ बजे

धनगढीबाट हेलिकोप्टरमार्फत काठामडौँ लैजादा राजु श्रेष्ठ, जसको काठमाडौँ नपुग्दै मृत्यु भयो ।

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ का व्यवसायी नारायण लम्साललाई गत साता कोभिड–१९ संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि र स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा धनगढीको माया मेट्रो र त्यसपछि कैलाली अस्पताल पुर्‍याइएका लम्सालले दुवै अस्पतालमा भर्ना पाएनन् । 

लम्सालकी बहिनी राधाले भनिन्, ‘दुवै अस्पतालमा श्‍यैया खाली नभएपछि धनगढीकै निसर्ग अस्पतालले भर्ना लियो । त्यहाँ केही घण्टा उपचार गरेपछि सोही दिन सेती प्रदेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्‍यौ ।’ 


उनकाअनुसार सेती प्रादेशिक अस्पतालमा पनि आइसीयू भरिएको थियो । ‘तीन दिनसम्म उपचार गर्दा पनि दाइको स्वास्थ्यमा सुधार भएन्,’ उनले भनिन्, ‘अस्पतालमा आइसीयू र भेन्टिलेटर पनि खाली थिएन् । हवाई एम्बुलेन्समार्फत शनिबार काठमाडौँ लगेका थियौँ । उपचारकै क्रममा सोमवार मृत्यु भयो ।’ 

हवाई एम्बुलेन्समार्फत काठमाडौँ पुगाउन १० लाख खर्च गरेको लम्साल परिवारले घरको अभिभावकलाई गुमाए । राधा भन्छिन्, ‘धनगढीमा भरपर्दो उपचार सेवा उपलब्ध भएको भए सायद जोगाउन सकिने थियो । तर यहाँ त उपचार त परै जावस भर्ना पाउन पनि मुस्किल छ ।’

धनगढीको हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई पनि अघिल्लो साता संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धनगढीकै नवजीवन अस्पताल भर्ना गरियो । दुई दिनसम्म अक्सिजनको व्यवस्था गरेका परिवारका सदस्यले त्यसपछि थप अक्सिजनको जोहो गर्न सकेनन् । 

त्यसपछि उनलाई सेती प्रादेशिक अस्पतालमा लगियो । राजुका आफन्त बाबुराजा श्रेष्ठका अनुसार सेती अस्पतालमा पनि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था भएन् भने आइसीयू र भेन्टिलेटर सपोर्टको सुविधा पनि उपलब्ध भएन् । १० लाख खर्च गरेर संक्रमित राजुलाई पनि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँ लैजान तयार भयो उनको परिवार । शनिबार बिहान ११ बजे धनगढीबाट बिरामी राजुलाई बोकेर हेलिकोप्टर काठमाडौँका लागि उड्यो । तर उनको काठमाडौं  नपुग्दै मृत्यु भयो । 

घरको अभिभावकलाई संक्रमणबाट मुक्त गराउन १०/१० लाख खर्च गरेका लम्साल र श्रेष्ठ परिवार अहिले शोकमा छन् । आफ्नै प्रदेशमा भरपर्दो उपचार सेवा नहुँदा परिवारका सदस्यलाई अकालमै गुमाउनु परेको उनीहरूलाई लागेको छ । 

अहिले सुदूरपश्चिम प्रदेशमा अक्सिजन, भेन्टिलेटर र आइसीयूको चरम अभाव छ । सोही कारणले सक्रिय संक्रमितमध्ये तीन प्रतिशतको समेत अस्पतालमा छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय बढी संक्रिय संक्रमित रहेकोमा अहिले एक सय ९७ जना संक्रमितको मात्रै अस्पतालमा उपचार भइरहेको छ । 

अहिले पनि प्रदेशभरीका अस्पतालमा ५३ जना गम्भीर प्रकृतिका संक्रमितको उपचार सम्भव छ । प्रदेशका पाँच वटा अस्पतालमा ५३ श्‍यैया आइसीयू र २२ वटा भेन्टिलेटर मात्रै उपलब्ध रहेको निर्देशनालयले जनाएको छ । अक्सिजन, आइसीयू र भेन्टिलेटरको अभावकै कारण पछिल्लो दुई सातामा प्रदेशमा मृत्युदर बढेको छ । 
स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका नौँ जिल्लामा दुई सय ७० जना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्मा होम आइसोलेसन र प्रदेशका अन्य अस्पतालमा ज्यान गुमाउनेको संख्या जोडिएको छैन् ।


Author

थप समाचार
x