सुदूरपश्चिम

अझै सुदूरपश्चिम सरकारले पूर्णता पाएन, रेशम चौधरीलाई जन्मकैदको फैसला भएपछि थप अन्योल

इकागज |
जेठ ४, २०८० बिहीबार १०:५९ बजे

फाइल फोटो

कैलाली - सुदूरपश्चिम प्रदेशको नेतृत्व लिएको तीन महिना भन्दा पनि बढी समय हुँदासम्म मुख्यमन्त्री कमलबहादुर शाहले अझै सरकार बिस्तार गर्न सकेका छैनन् । आज भोलि भन्दा भन्दै दलहरूबीच भागबन्डा नमिल्दा प्रदेशको सरकारले पूर्णता पाउन नसकेको हो । 

प्रदेशको भ्रमण गर्ने क्रममा गत वैशाख २० गते बाजुरा पुगेर मुख्यमन्त्री शाहले केही दिनमै सरकारले पूर्णता पाउने बताएका थिए । तर, मन्त्रालय भागवण्डामा दलहरुबीच टुङ्गो नलाग्दा मुख्यमन्त्री शाहले सरकारलाई पूर्णता दिन सकेका छैनन् । 


छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताउने मुख्यमन्त्री शाह पुनः सरकारको पूर्णताका लागि काठमाडौं पुगेका छन । 

यता, सरकारको नेतृत्वका लागि मुख्यमन्त्री शाहलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई मंगलबार सर्वोच्च अदालतले जन्मकैद ठहर गरेपछि प्रदेशको मन्त्रिमण्डल विस्तारमा थप समस्या आएको छ । 

उन्मुक्तिका नेता लक्ष्मण किशोर चौधरीले आफूहरुले दुई मन्त्रालयमा दाबी गरेको तर, सर्वोच्चको फैसलाले सरकारमा जाने वा नजानेबारे निर्णय लिन अझै केही समय लाग्ने बताए ।  

सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल विस्तार नहुँदा हिउँदे अधिवेशन अन्त्य, बजेट अधिवेशनको सुरुवात तथा विषयगत समितिले पूर्णता पाउन सकेको छैन ।

गत फागुन २१ गते मुख्यमन्त्री शाहले विश्वासको मत पाए यता प्रदेश सभा बैठक भने बस्न सकेको छैन् । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारले दर्ता गराएका केही विधेयकहरु त्यत्तिकै अड्केर बसेको छ । 

२०७९ पुस १८ गते दोस्रो प्रदेश सभाको प्रथम बैठक सुरु भएको थियो । त्यसयता सभामुख, उपसभामुख चयन र मुख्यमन्त्रीलाई विश्वासको मत दिने लगायत प्रदेश सभाको उपलब्धि बाहेक अन्य केही प्रगति हुन सकेको छैन ।

प्रदेश सरकारले यहि जेठ १५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेस गर्ने तयारी गरेको छ । त्यस्तै असार १ गते बजेट प्रस्तुत गर्ने छ । तर, मन्त्रिमण्डलले पूर्णता नपाउँदा हिउँदे अधिवेशन अन्त्य र आगामी बजेट अधिवेशन प्रदेश सरकारले आह्वान गर्न सकेको छैन् ।

५३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादी ४, राप्रपाका र स्वतन्त्रका एक/एक सदस्य रहेका छन् ।


Author

थप समाचार
x