सुदूरपश्चिम

मुख्यमन्त्री बनेको एक सय दिनपछि सरकार विस्तार गर्दै शाह, को-को बन्दैछन् मन्त्री ?

इकागज |
जेठ ५, २०८० शुक्रबार ११:४९ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुने भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (शुक्रबार) प्रदेश सरकार विस्तार हुने बताएका छन् । उनले शुक्रबार बिहान मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकार विस्तार हुने बताएका हुन् ।

सरकारमा सहभागीताबारे माओवादी दलका नेता खगराज भट्टले माओवादीबाट झपट साउद, रमेश धामी र गीता मालको नाम टुंगिएको बताए । धामी र साउद मन्त्री हुने छन् भने माल राज्यमन्त्री हुने उनले बताए । 


त्यस्तै नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा सहभागी हुने मुख्यमन्त्री शाहले बताए । उनले आजै साझ ५ बजेसम्ममा सरकार विस्तार हुने बताए । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी  मन्त्री हुने लगभग टुंगिएको शाहले बताए । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । तर, सामाजिक विकास मन्त्रालयमा माओवादी र नागरिक उन्मुक्ति पार्टीको दाबी छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने नागरिक उन्मुक्तिको भागमा परेको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीको सूचीमा परेका रामेश्वर चौधरीले अझै मन्त्रालयको टुंगो नभएको बताए । 

सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिको दाबी रहेको रामेश्वरले बताए । मन्त्रालयको भागबण्डा अझै नटुंगिएको दाबी उनको छ । तर मुख्यमन्त्री शाहले भने नागरिक उन्मुक्ति पार्टीका मन्त्रीले पनि आजै शपथ ग्रहण गर्ने दाबी गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका कांग्रेस दलका नेता शाहले शपथ खाएको एक सय दिनपछि प्रदेश सरकार विस्तार हुने भएको हो । नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा समेत दाबी गर्दै आएको छ । 

अहिले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिला मन्त्री छन् ।

५३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादी ४, राप्रपाका र स्वतन्त्रका एक/एक सदस्य रहेका छन् ।


Author

थप समाचार
x