सुदूरपश्चिम

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई संजीवनी अस्पतालको साथ

इकागज |
जेठ २९, २०८० सोमबार १९:१८ बजे

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको संजीवनी अस्पताल जोडिएको छ । धनगढीको अस्पताल लाइन र राष्ट्र बैंक छेउमा सञ्चालनमा रहेको संजीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो । 

संजीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो । यो विधाको नाम अब संजीवनी अस्पताल वर्ष खेलाडी पुरुष रहनेछ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा संजीवनी अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । 


सम्झौतापछि प्रतिक्रिया दिँदै अस्पतालका अध्यक्ष बस्नेतले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए । 

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । अवार्डको वर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई सौभाग्य हस्पिटल, लाइफटाइम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।


Author

थप समाचार
x