सुदूरपश्चिम

दुई मन्त्रीसहित सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुँदै

इकागज |
साउन १६, २०८० मंगलबार १३:३२ बजे

कैलाली । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी अन्ततः सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीसहित बालुवाटारमा भएको छलफलपछि उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान सहमत भएको हो । सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा भएको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको बताइएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।


प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कमल बहादुर शाहसहितको छलफलपछि दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको नागरिक उन्मुक्तिका एक सांसदले बताए । सरकारले बिहीबार पूर्णता पाउने उनले बताएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । अब बाँकी ५ जनामध्ये एक मन्त्री, एक राज्यमन्त्री, २ सभापति र एक जनालाई उप सभामुख दिइने सहमति भएको पार्टीले जनाएको छ ।


Author

थप समाचार
x