सुदूरपश्चिम

माइतीबाट घर पुगेकी महिलाको शव फेला

इकागज |
साउन १७, २०८० बुधबार १७:४४ बजे

धनगढी । माइतीबाट घर पुग्ने बित्तिकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजिता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजिता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्। 

दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोही दिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजिताका श्रीमान् २६ वर्षीय सुवेत यादव सोही दिन ४/५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजिता घर पुग्ने बित्तिकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादवसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजिता र सुवेतबीच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।


संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। 'झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ', मृतक संजिताका मामा हरिनारायण चौधरीले भने। संजिताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादवसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजिताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।


Author

थप समाचार
x