सुदूरपश्चिम

सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेन

इकागज |
साउन २४, २०८० बुधबार २१:२२ बजे

कैलाली - अविरल वर्षापछि गएको पहिरोसँगै भूस्खलनका कारण अवरुद्ध  सात वटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्गको बुढीतोला सडक खण्डको मर्मत सम्भार कार्य बुधबार साँझसम्म सकिएन । 

वर्षा नरोकिएपछि मर्मत संभार र पहिरो हटाउने कार्य समेत साँझदेखि बन्द भयो । जसका कारण दुई दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग खुलाउने प्रयास बुधबार साँझ सम्म पनि सफल भएन ।


भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला क्षेत्रमा थुप्रै स्थानमा सडक भासिनुका साथै ठूलो पहिरो गएका कारण सोमबार बिहानदेखि पहाडी जिल्लाहरुको तराईसँगको सम्पर्क टुटेको थियो ।

सोमबार बिहानदेखि नै पहिरो हटाउन र भासिएको मर्मत सम्भारका लागि सडक विभागसँगै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टिम संयुक्त रुपमा खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले वर्षा नरोकिएपछि सडक मर्मत संभार र पहिरो हटाउने कार्य बुधबार साँझ रोकिएको बताए ।

उनले यस्तै अवस्था रहे भोलि साँझसम्म पनि भीमदत्त राजमार्गमा यातायात सेवा सुचारु हुन सक्ने अवस्था नरहेको बताए ।


Author

थप समाचार
x