भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने
कैलाली- अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने देखिएको छ ।
गत सोमबार रातिदेखि बन्द भएको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्गमा आंशिक सवारीसाधन सञ्चालनमा आए पनि दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने देखिएको हाे ।
बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध थियो ।
सडक विभाग र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत संभार गरेर सिंगल ट्रयाक भने शनिबार खुलेकाे छ ।
पहाडी जिल्लाबाट आएका सवारी साधनहरूलाई शनिबार एक/एक गरी तल झार्ने प्रयास गरिएको र भूस्खलन भएको सडकबाट एउटै गाडी निकाल्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । उनका अनुसार वर्षा नरोकिए पूर्ण रूपमा सडक सञ्चालन हुन अझै समय लाग्ने छ ।
पहाडी जिल्लाहरूबाट तराई जानका लागि आएका सवारी साधनहरू सडक हिलाम्य भएका कारण माथि उक्लिन सक्ने अवस्था नरहेको बताउँदै डिएसपी चन्दले पूर्ण रूपमा सडक सञ्चालनमा आउन केही समय लाग्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया