सुदूरपश्चिम

कोभिड संक्रमणको असर

कोभिड जिते, तर मृत्युसँग हारे

रिपोर्ट नेगेटिभ आएपछि पनि जान्छ ज्यान

नवराज पनेरु |
जेठ ११, २०७८ मंगलबार ९:३ बजे

धनगढी : चार पाँच दिनसम्म ज्वरोले सताएपछि धनगढी-८ का व्यवसायी नरेन्द्र बोगटीले पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा स्वाब दिए । २३ वैशाखमा उनलाई कोभिड १९ संक्रमण पुष्टि भयो । रिपोर्ट आउन अगाडिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धनगढीकै निसर्ग अस्पतालमा भर्ना गराइएको थियो । ‘२३ गतेदेखि झण्डै दुई सातासम्म भाईको निसर्ग अस्पतालमा उपचार भयो । अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार पनि भइरहेको थियो,’ बोगटीकी दिदी रत्ना विष्टले भनिन् । 

उनका अनुसार फेरि स्वास्थ्यमा समस्या बढेपछि आइसियूमा राखेर उपचार गर्नका लागि बोगटीलाई ५ जेठमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो । ‘निसर्ग अस्पतालमै उपचार हुँदा दोस्रो पटक स्वाब दिइसकेका थियौँ,’ उनले भनिन्, ‘सेतीमा भर्ना हुँदासम्म रिपोर्ट नेगेटिभ आइसकेको थियो । त्यसपछि जनरल आइसियूमा राखियो । त्यस्को केही मिनेटमै भाईको मृत्यु भयो ।’ कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएको दुई दिनपछि बोगटीको मृत्यु भएको हो । 


कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ वैशाखमा कोभिड-१९ पुष्टि भयो । अक्सिजन लेभल जाँच गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भए । डेढ हप्तासम्म कोभिड-१९ विरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । शनिबार राति १२ बजे उनको मृत्यु भएको हो । 

भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका-७ मा उनको मेडिकल छ । मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ ।’ लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा संक्रमणमुक्त भएका बिरामीको पनि मृत्यु भइरहेको बताए । उनले भने, ‘प्रादेशिक अस्पतालमा चार पाँच वटा त्यस्तो घटना भइसकेको छ । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएपछि कोभिड संक्रमणका कारण मृत्यु भएको भन्न सकिदैन् ।’ रिपोर्ट नेगेटिभ आएपछि मृत्यु हुँदा मृतकलाई कोभिडका कारण मृत्यु भएकाहरुको संख्यामा जोडिदैन् । 

त्यसैले पछिल्लो समय कोभिडको मृत्यु दर घटेको हुनसक्ने चिकित्सकहरुको भनाई छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. जगदीश जोशीले कडा खालको निमोनियाले आक्रमण गरिसकेका बिरामीको कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको हुनसक्ने बताए । 

‘कोरोना भाइरसले ७५ प्रतिशतभन्दा बढि फोक्सो ड्यामेज गरेपछि रिकभर हुँदैन्,’ डाक्टर जोशीले भने, ‘यस्तो अवस्थामा कोभिड भाइरस मरिसके पनि फोक्सोले काम गर्दैन् । त्यसैले रिपोर्ट नेगेटिभ आएपनि बिरामीको मृत्यु भएको हुनसक्छ ।’ 

उनले रिपोर्ट नेगेटिभ आएपछि हुने मृत्यु कोभिडकै कारण हो पनि भन्न नसकिने बताए । ‘कोभिडकै कारण मृत्यु भएको हो वा होइन ठ्याक्कै भन्न सकिदैन् । किनकी मृतकको पोष्टमार्टम नै हुँदैन् । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएका कोही दीर्घ रोगी पनि हुन सक्छन्,’ डा. जोशीले भने ।
 


Author

थप समाचार
x