सुदूरपश्चिम

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

इकागज |
जेठ १३, २०७८ बिहीबार ८:२९ बजे

फाइल फोटो

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौको  निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । उनलाई कोभिड संक्रमण थियो ।

चार दशकसम्म कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । वि.स. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य थिए । 


मल्ल २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए । ३ माघ २०७४ मा प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते सपथ ग्रहण गरेका थिए ।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका श्रीमति, एक छोरा र एक छोरी छन् ।
 


Author

थप समाचार
x