सुदूरपश्चिम

बझाङमा भूकम्पकाे एक सय पराकम्प : त्रास नहट्दा विद्यालयमा बिदा

इकागज |
असोज १७, २०८० बुधबार १०:८ बजे

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ । भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको र चर्केको अवस्थामा रहेको भन्दै आगामी आइतबारसम्मका लागि चार दिन बिदा दिएको हो ।

भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नगरपालिकाको शिक्षा शाखाले एक सूचनाद्वारा बिदा दिएको जानकारी गराएको छ । विद्यालयले विपदको याे समयमा सबै सजग र सुरक्षित स्थानमा रही हातेमालो गरि अघि बढ्न पनि आग्रह गरिएको छ । भूकम्प मापन केन्द्रका भुकम्पविद चिन्तन तिम्सिनाका अनुसार बझाङमा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन् । भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन् ।


अहिलेसम्म बझाङ प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक जनाको पहिरोमा परि मृत्यु एक जना महिलाको मृत्यु भएको छ भने एक सय ३५ संरचनामा क्षति पुगेको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल टोलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । 

 प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार थलारामा ६० घरमा, जयपृथ्वी नगरपालिकामा ४१ घरमा, केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । अझैं क्षति संख्या बढ्नसक्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका बताउँछन् ।

हालसम्म प्राप्त जानकारीअनुसार बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् । 


Author

थप समाचार
x