भूकम्पका घाइतेकाे उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने
कैलाली । मंगलबार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा परि घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका हुन्।
सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधबार बिहानसम्म २७ जना घाइते भएका विवरण आएको हो।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गर्ने निष्कर्ष निकालिएको छ। खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए।
मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको छलफलमा, सभामुख, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल, प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक, संयुक्त राष्ट्र सङ्घीय विकास साझेदार संस्था विश्व खाद्य संगठन, स्वास्थ्य संगठन र नेपाल रेडक्रस सोसाइटी र प्रदेशमा क्रियाशील गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया