सुदूरपश्चिम

'कैलाली​मा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष भन्सार असुलीमा कमी आउने'

इकागज |
कात्तिक १६, २०८० बिहीबार १६:१४ बजे

कैलाली- कैलाली​मा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष भन्सार असुलीमा निकै कमी आउने देखिएको छ । कैलाली भन्सार कार्यालयका अनुसार यो आर्थिक वर्षमा असुली लक्ष्य नपुग्ने देखिएको हो ।

कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २५ लाख ७० हजार राजश्व असुली लक्ष्य लिएकोमा असोज मसान्तसम्ममा १ अर्ब ६१ करोड ९० लाख २५ हजार रुपैयाँ मात्रै राजश्व असुली भएको कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले बताए । उनका अनुसार यो असुलीको ६२ दशमलव ६१ प्रतिशत मात्रै हाे । 


कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व असुलीको लक्ष्य लिएकोमा ८ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ असुली गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य लिएकोमा त्यो घटेर ९ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ मात्रै राजश्व असुली गर्न सकेको थियो । 

यसैगरी गत आर्थिक वर्ष ०८९/८० मा १२ अर्ब ३० करोडको राजश्व असुलीको लक्ष्य लिइएकोमा ८ अरब २९ करोड मात्रै असुली भएको भन्सार अधिकृत हमालले बताए ।

साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्रीहरू आयातमा ठप्प पारिएपछि राजश्व असुलीमा कमी आएको भन्सार प्रमुख हमालले बताए । फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तुहरू क्वारेन्टाइन नहुँदा आयात गर्न नसकिएको बताउँदै भन्सार प्रमुख हमालले क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको जनाए। 

क्वारेन्टाइन पुन:स्थापनाका लागि कैलाली उद्योग बाणिज्य संघले समेत पहल थालेको छ । तर, स्थापना हुनेबारे कुनै टुंगो नलागेको उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुंवरले जिकिर गरे । उनले प्रदेश सरकार हुँदै केन्द्रसम्म ज्ञापनपत्र बुझाएको बताउँदै क्वारेन्टाइन पुन:स्थापनाका लागि अहिलेसम्म आश्वासन मात्रै पाएको बताए । 

पहिला धनगढीस्थित भन्सार कार्यालय भएर आउने सामग्रीहरू अहिले महेन्द्रनगर र नेपालगन्जबाट आयात हुँदै आएको छ ।
 


Author

थप समाचार
x