सुदूरपश्चिम

कैलालीका व्यवसायीहरूले वित्तीय संस्थामा पैसा जम्मा नगर्ने

माग सुनुवाइ नभए छाता संगठनबाटै छुट्टिने चेतावनी

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १६:३९ बजे

कैलाली- कैलालीका उद्योग, व्यापार, व्यवसायीहरूले अबको एक हप्तादेखि १० दिनसम्म वित्तीय संस्थामा पैसा जम्मा नगर्ने बताएका छन् । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले बैंक, वित्तीय संस्थामा पैसा जम्मा नगर्ने बताएका हुन् ।

व्यवसायीहरूले आफ्नो व्यापार, व्यवसाय धराशायी भएको अवस्थामा नेपाल उद्योग बाणिज्य महासंघले कुनै पनि कडा कदम नचालेको भन्दै आक्रोस व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंककाे उद्योग, व्यापार, व्यवसायीहरूप्रतिको गलत नीतिका कारणले बैंकहरूले ज्यादती गर्न थालेपछि आफूहरू झन् धरापमा परेको व्यवसायीहरूले गुनासो गरे । 


कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघविरुद्ध आन्दोलन गर्ने बताएका छन् । आफूहरूले धेरै प्रयास गर्दा पनि मागहरूको सुनुवाइ नभएपछि अब अन्तिम विकल्पका रूपमा महासंघविरुद्ध आन्दोलन गर्ने तयारी गरेको पूर्व अध्यक्ष भण्डारीले बताए । 

महासंघले व्यवसायीहरूमाथि गरेको व्यवहार असह्य भएकाले महासंघको विरुद्धमा आन्दोलन गर्न जुनसुकै हदमा पनि जान सक्ने सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वाँरले बताएका छन् । बैंकले मात्र नभएर आफूहरू बिमाबाट सबैभन्दा बढी पीडित भएको स्वाँरकाे भनाइ छ । 

धेरै व्यवसायीहरू आफ्नो पेसाबाट नै पलायन भइसकेको र अब बाँकी रहेका व्यवसायीहरूसँग जग्गा बेचेर ऋण तिर्नुबाहेक अरु कुनै विकल्प नभएको समेत अध्यक्ष स्वाँरले बताए । महासंघले आफ्ना मागको अब अन्तिम पटक पनि सुनुवाइ नगरे संघको छाता संगठनबाटै छुट्टिने होटेल व्यवसायी संघका अध्यक्ष केशव पाण्डेयले चेतावनी दिए । महासंघले अझै पनि अप्ठ्यारोमा परेका व्यवसायीलाई सहयोग नगरे अझै धेरै व्यवसायीहरू प्रेमप्रसाद आचार्यजस्तै आत्मदह गर्न बाध्य हुने उल्लेख गरे ।
 


Author

थप समाचार
x