सुदूरपश्चिम

३४० रुपैयाँ लुट्नका लागि युवकको हत्या !

नवराज पनेरु |
जेठ १९, २०७८ बुधबार १४:१९ बजे

धनगढी : बिहीबार राति कैलालीको धनगढी बसपार्कमा एक युवक मृत फेला परे । मृत फेला परेका २७÷२८ वर्षको युवकको मुख, टाउको र शरीरमा चोट थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिटका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकाल्यो । दोस्रो दिन पनि मृतकको पहिचान भने हुन सकेन् । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृतक देखिएको सीसीटीभी फुटेज पायो र विश्लेषण गर्न थाल्यो । सीसीटीभी फुटेजमा रातिको समयमा मृतक बसपार्क क्षेत्रमै डुल्दै गरेको दृश्य देखियो ।


केही समयपछि उनी बसपार्कभित्रै रहेको प्रतिक्षालयमा पल्टिए । त्यहाँ चार जना युवक आउँछन् । पल्टिएका युवकको खल्ती चेक गर्न थाल्छन् । एउटा खल्तीमा भएको रकम लुट्छन् । पल्टिएका युवकले हलचल गरेपछि चारै युवक त्यहाँबाट भाग्छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,‘खल्तीमा भएको तीन सय ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप रकम हुनसक्ने ठानेर युवक भएकै स्थानमा पुगेको सीसीटिभी फुटेजमा देखिन्छ ।’

चार जना आएको थाहा पाएपछि युवक उठ्न खोज्छन् । तर चारमध्ये एक जनाले उनलाई लात्ताले हिर्काएर लडाउँछन् । उनी प्रतिवाद गर्न सक्दैनन् । चार जनाले पालैपाले उनीमाथि कुटपिट गर्छन् र केही समयमा उनीहरू भाग्छन् । कुटपिटमा संलग्न चारै जनालाई प्रहरीले शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ ।

धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् । उनीहरु चारै जना गाडीका सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ ।

मृतक र उनीहरुबीच चिजानभने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । ‘दुई जनाले ४० र अन्य दुई जनाले तीन सय गरी तीन सय ४० रुपैयाँ लुटेर कुटपिट गर्दै हत्या गरेको देखिन्छ, प्रहरी निरिक्षक गुरुले भने,‘उनी पल्टेको मौका छोपेर खल्तीमा भएको रुपैयाँ लुटेको पाइयो । जुन कुरा प्रारम्भिक अनुसन्धानमा अभियुक्तले पनि स्वीकार गरेको अवस्था छ ।’

प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक युवकको पहिचान भएको छैन । प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तिम संस्कार गरिसकेको जनाएको छ ।


Author

थप समाचार
x