सुदूरपश्चिम

ओलीलाई प्रकाश शाहको जवाफः

'संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र हुन्छ'

इकागज |
जेठ २३, २०७८ आइतवार १३:५६ बजे

फाइल फोटो

धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार भएको बताएका छन् । उनले ससंदीय दलको निर्णयअनुसार नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको पनि स्पष्ट पारेका छन् । 

‘सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको जिम्मेवारपूर्ण निर्णयको पालना गर्दा मैले पार्टीको नीति निर्देशन अवज्ञा गरेको ठहरिदैन् । वर्तमान संघीय शासन प्रणालीमा प्रदेश सभा, प्रदेश सरकार तथा प्रदेश सभा संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र रहेको तथ्यबारे मैले थप भनिरहनु परेन्,’ शाहले बुझाएको स्पष्टीकरणको जवाफमा भनेका छन् । 


यसअघि प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए । प्रदेश सचिव रावलले मेलमार्फत शाहको स्पष्टीकरण प्राप्त भएको बताउँदै अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई पठाइएको जानकारी दिए । अध्यक्ष ओलीले शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । 


Author

थप समाचार
x