कैलालीका स्थानीय तहमा कोभिड-१९ परीक्षण दर घट्दो
कैलाली : कैलालीका स्थानीय तहमा स्वाब संकलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोभिड-१९ परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताए ।
'सुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुपर्यो भनेर फोन आउँथ्यो, हाल त्यस्तो छैन', चौधरले भने,'हाल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि दुई/तीन दिनमै रिपोर्ट आउन थालेको छ, सायद चाप कम भएरै होला ।'
जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोभिड-१९ परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । 'दुई साताअघिसम्म स्वाब सङ्कलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको थियो', गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरी भन्छन्,'हाल परीक्षण गर्न आउनेको सङ्ख्या घटेको छ । शुरुका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका थिए, लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिन्छ, आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।'
कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेका छन् । भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० मात्र आउने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया