थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर
फाइल तस्बिर
कञ्चनपुर- बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारी खेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् ।
बाह्रै महिना बोहराको बारीमा तरकारी खेतीमात्रै हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन ।
कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ ।
'विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु १०–१२ हजार जति पर्दथ्यो', बोहराले भने, 'कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन ।'
उनी भन्छन्, 'मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारी खेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।'
'तरकारी खेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो', अगाडि थप्दै बोहरा भन्छन्, 'साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।'
बोहराले तरकारी खेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन् । तरकारी खेतीबाट आएको आम्दानी खर्च गरेर उनले दुई वटा प्लाष्टिक टनेल निर्माण गरेका छन् । आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उनले आम्दानी गर्दै आएका छन् । अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्छन् ।
तरकारी खेतीकै लागि उनले वर्षमा रु ६५ हजार बढी लगानी गर्दै आएका छन् । लगानी कटाएर वर्षमा रु एकदेखि रु एक लाख ८० हजारसम्म उनले आम्दानी गर्दै आएका छन् । तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउँछन् ।
'श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्', उनले भने, 'तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहजरूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारी खेती गर्नमा सघाउने गरेकी छिन् ।'
उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन् । तरकारी खेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउँछन् । बैतोडा गाउँमा व्यावसायिक तरकारी खेती गर्ने बोहरा एक्ला किसान हुन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया