सुदूरपश्चिम

सीमापार विष्फोट हुँदा नेपाली भू-भागमा क्षति, सीडीओले पठाए भारतलाई पत्र

नवराज पनेरु |
जेठ २९, २०७८ शनिवार १४:५२ बजे

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । नेपाली बाटोमा क्षति भएको स्थान यहाँबाट नजिकै छ । फाइल तस्बिर : रासस

धनगढी : कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा भारतले विष्फोटक पदार्थ विष्फोट गर्दा नेपाली भूभागमा क्षति भएको छ । नेपाली भू–भागको बाटोसमेत भत्किएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको हो । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई नेपालको भू–भागमा भइरहेको क्षति रोक्न र अवरुद्ध बाटो सञ्चालन गर्न आग्रहसहित पत्र पठाएको जानकारी दिए । 


‘भारतीय गतिविधिका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले बाटो अवरुद्ध भएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले इकागजसँग भने,‘बन्द भएको बाटो खुलाउन र यस्ता गतिविधि रोक्न पत्रमा आग्रह गरेका छौँ ।’ 

नदीमा खसेको चट्टानलाई पन्छाउन र बहावलाई प्राकृतिक धारमा फर्काउन पनि आग्रह गरेको उनले बताए । उनले त्यसको जानकारी गृहमन्त्रालयलाई गराइएको र कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरिएको सीडीओ जोशीले जानकारी दिए । 

स्थानीय प्रशासनका अनुसार दार्चुलाको व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको थियो । प्रहरी चौकी दुम्लीङबाट करिब दुई मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । 

भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन् । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । 

 


Author

थप समाचार
x