सुदूरपश्चिम

पहिरोले ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

इकागज |
असार १, २०७८ मंगलबार १२:२८ बजे

धनगढी : लगातारको वर्षातका कारण पहिरो गएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिक पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार डोजर लगाएर राजमार्ग सुचारु गर्ने कार्य भइरहेको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनौ सवारी साधन बीच बाटोमै रोकिएका छन् । उक्त राजमार्गले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट पहाडी सात जिल्ला जोड्ने गरेको छ ।


यस्तै पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्ग पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । उता बाजुरा जिल्ला जोड्ने राजमार्ग पनि अवरुद्ध छन् । साँफे–मार्तडी सडक, मार्तडी–कोल्टी सडक लगायतका राजमार्ग ठाउँठाउँमा पहिरो गएपछि अवरुद्ध भएका हुन् ।


Author

थप समाचार
x