सुदूरपश्चिम

नागरिक उन्मुक्ति पार्टी विवाद

संसदीय दलका नेताको आधिकारिकतामा विवाद उठाउँदै सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार

इकागज |
जेठ १६, २०८१ बुधबार २१:४८ बजे

फाइल फाेटाे

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्यहरूले आफ्नो पार्टीको संसदीय दलका नेताको आधिकारिताको विषय उठाउँदै बैठक बहिष्कार गरेका छन् ।

आजको बैठक प्रारम्भ हुनासाथ आफ्नो स्थानबाट उठेर नाउपाका पाँच सदस्यले विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत उक्त विरोधमा साथ दिएको थियो । सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि बोलेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले संसद्मा पार्टीका बहुमत सदस्यले छनोट गरेको संसदीय दलको नेतामा घनश्याम चौधरी रहेको र दलका नेताबाट पार्टीका नाममा प्रदेश सरकारमा मन्त्री भएकालाई फिर्ता हुन पठाइएको पत्र कार्यान्वयन नगरिएकामा विरोध गरे । त्यसपछि प्रतिपक्षी नाउपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए । 


नाउपाभित्रको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन । पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ पक्षधर प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापा प्रदेश सरकारमा मन्त्री छन् । पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर पाँच सदस्य भने विपक्षी बेञ्चमा छन् । प्रदेशसभामा सो पार्टीबाट सात जना सदस्य छन् ।

 प्रतिपक्षी बेञ्चमा राप्रपाका एक सदस्य उपस्थित हुँदा सभामुख भण्डारीले आजको बैठकको बाँकी कारबाही अगाडि बढाए ।  बैठकमा आर्थिक मामिला मन्त्रीको तर्फबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरे । 

छलफलमा शिवसिंह ओली, सुरेन्द्रबहादुर पाल, धर्मराज पाठक, वीरबहादुर थापा, नरेशकुमार शाहीले भाग लिएका थिए । 


Author

थप समाचार
x