सुदूरपश्चिम

सुदूरपश्चिम सरकारले ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान चलाउने

इकागज |
असार २, २०८१ आइतबार ११:३९ बजे

फाइल फोटो

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ ।

 शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख छ ।


स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने अभियानका लागि रु दुई करोड बजेट विनियोजन गरिएको मन्त्री पालले बताए । प्रदेशभित्रका १० हजार किशोरकिशोरीलाई यौनजन्य हिंसा र बालविवाहविरुद्ध अभिमुखीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । 

विशेष संरक्षणको आवश्यकता भएका हिंसा तथा जोखिममा परेका बालबालिकाका लागि ‘प्रदेश बाल कोष’ स्थापना गरिने उनको भनाइ छ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र दुर्व्यवहार अन्त्यका लागि संरक्षणात्मक र निरोधात्मक उपाय अवलम्बन गरिने बजेटमा उल्लेख गरिएको छ ।

लैङ्गिक हिंसा निवारण लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सुरक्षा निकायसँगको साझेदारीमा सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महिलालाई उद्यम र रोजगारीतर्फ प्रोत्साहन गर्न ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पालले बजेट भाषणमार्फत बताएका छन् ।


Author

थप समाचार
x