सुदूरपश्चिम

वनहराका मुक्त कमैयालाई खर्च चलाउनै गाह्रो

इकागज |
असार ७, २०७८ सोमबार १०:३६ बजे

कञ्चनपुर : कृष्णपुर नगरपालिका-२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उहाँले आम्दानी लिँदै आउनुभएको थियो । 

यस वर्ष कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै गरिएको दुई महिने बन्दाबन्दीले उहाँको जनजीवन असहज बनाइदिएको छ । तरकारी बेच्‍नका लागि तयार भएकै बेला बन्दाबन्दी हुँदा थोरै मात्रै बिक्री हुन पाएको छ । 'छ वर्षदेखि बगरमा तरकारी लगाउँदै आएका हौँ', उनले भने, 'बगरमा उत्पादित लौका, करेला, काँक्रा, फर्सी, तरबुजा बेचेर वर्षभरिको खर्च धानिन्थ्यो । बन्दाबन्दीले तरकारी बेच्‍न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।'


उनका अनुसार बन्दाबन्दीले गर्दा मजदुरी पाइँदैन । मेहनत गरी लगाएको तरकारीबाट आम्दानी लिन पाइएको छैन । नदीको बगरमा तरकारी खेती गर्दै आएका प्रतिव्यक्तिले वार्षिकरूपमा रु ७० हजारदेखि एक लाखसम्म कमाउँदै आएका थिए ।

यस वर्ष छिट्टै भएको बन्दाबन्दी र मौसममा आएको परिवर्तनका कारण नदीमा जेठ महिनामै बाढी आउँदा मुक्त कमैया परिवारले बगर खेतीबाट आम्दानी लिन नसकेका हुन् । बगरमा उत्पादित तरकारी बेचेर रु १० हजारदेखि रु २० हजारसम्म केही परिवारले आम्दानी गरेका छन ।
 
बगरमा तरकारी खेती गरेका लक्ष्मी चौधरीले थोरै मात्रै तरकारी बेच्‍न पाएको बताए । बगरमा तरकारी भर्खरै बेच्‍नका लागि तयार हुँदै गरेको बेला भएको बन्दाबन्दीले बेच्‍न नपाएको उनले बताए । 'प्रत्येक वर्ष पूर्वपश्चिम राजमार्ग छेउमै बसेर उत्पादित तरकारी बेच्थ्यौँ । कोरोनाको सङ्क्रमणका डरले सडकछेउमा बसेर तरकारी बेच्‍न गाह्रो परेको छ', उनले भने, 'डरैडरले तरकारी बेच्‍नका लागि सडकछेउमा बसे पनि पहिला जस्तो ग्राहक खरिद गर्न आउँदैनन् । त्यसैले पनि थोरै आम्दानी हुन थालेको छ ।'
 
भारतीयहरुले नदीका बगरमा तरकारी लगाएको देखेर तरकारी रोप्ने, खेत तयार गर्ने, मल राख्‍ने सीपबारे जानकारी लिएर वनहरा बस्तीका मुक्त कमैया परिवारले बगरमा तरकारी खेती गर्दै आएका हुन् । दश बिघा बगरमा ६० परिवारले बर्सेनि तरकारी खेती गर्दै आएका छन् ।

विगतमा इँटाभट्टामा काम गर्दै आएका तौला रानाले तरकारी खेतीबाट गाउँका बासिन्दाले गतिलो आम्दानी गरेको देखेर मजदुरी गर्न छाडेका थिए । आम्दानी पनि प्रतिवर्ष गतिलो लिँदै आएको थियो । मजदुरी गर्दा मासिक रु आठ हजार मात्रै उनले पारिश्रमिकका रूपमा पाउने गर्थे ।
 
'तरकारी खेतीमा लागेपछि मासिक रु ३० हजार जति आम्दानी आउन थालेपछि यसमै लोभिएँ', उनले भने, 'बन्दाबन्दीले उत्पादित तरकारी थोरै मात्रै बिक्री हुँदा परिवारको खर्च चलाउन निकै समस्या भएको छ ।'

माघ महिनामा लौका, काँक्रा, फर्सी, तरबुजा र खरबुजाको बीउ बालुवामा रोपेर वैशाखको पहिलो हप्तादेखि असार महिनासम्म फलेको तरकारी बेच्दै आएका छन् तर यस वर्ष नदीमा छिट्टै आएको बाढीले तरकारी बगाएर लगेको छ । बन्दाबन्दीले गर्दा बचेको तरकारी पनि बिक्री नहँदा मुक्त कमैँया परिवार चिन्तित छन् ।

गत वर्ष बगरमा तरकारी खेतीमा संलग्‍न मुक्त कमैया परिवारले १० बिघा बगरमा तीन हजार क्विन्टल तरकारी उत्पादन गरेका थिए । यस वर्ष उत्पादन राम्रै भए पनि आधाभन्दा कम मात्रै तरकारी बिक्री गरेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बाह्य क्षेत्रमा बिक्रीसमेत हुन नपाएको मुक्त कमैया परिवारको भनाइ छ । कञ्चनपुरका स्याली, सनवोरा, वनहरा, दोदा, चौधरलगायतका नदीका बगरमा तरकारी खेती हुनेगरेको छ । रासस


Author

थप समाचार
x